‘बाँकेमा जनता कर्फ्यु’ : दिनभर सुनसान, साँझमा उस्तै भीड



१२ चैत्र २०७६, काठमाडौं

बाँकेमा प्रशासनले लगाएको जनता कर्फ्यु आज पनि जारी छ ।

कर्फ्युका कारण आज पनि बिहानैदेखि जिल्लाको सदरमुकाम नेपालगञ्ज, कोहलपुर, खजुरा, बैजनाथलगायतका स्थानहरु सुनसान देखिन्छ ।

सबै स्थानहरुमा मानिसहरु अत्यावश्यक कामबाहेक बाहिर निस्केका छैनन् । फ्रान्सबाट नेपाली आएकी कोरोना संक्रमित युवतीसँग आएका नेपाली मध्ये बाँकेका समेत चार जना रहेको खुलेपछि अहिले झन त्रास उत्पन्न भएको छ ।

सरकारले खोजी गर्न निर्देशन दिएको भएपनि उनीहरु कहाँ छन् अहिलेसम्म खुल्न सकेको छैन । उनीहरुका कारण अन्यमा हुन सक्ने संक्रमण नियन्त्रणका लागि बाँके प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

विश्वव्यपीरुपमा कोरोनाको संक्रमफण फैलिँदै गएपछि नेपालगञ्जमा आइतबारदेखि लक डाउन गरिएको थियो । तर स्थानीयले अटेर गरेपछि प्रशासनले मंगलबारबाट बाँकेमा जनता कर्फ्यु लगाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कोरोनाको संक्रमण फैलन सक्ने भएकाले मानिसको चहलपहललाई न्यून गर्न जनता कर्फ्यु लगाइएको बताए ।

जनता कर्फ्युका समयमा बाहिर निस्केकाहरुलाई प्रहरीले सम्झाउँदै पठाउने गरेको छ भने कतिपयलाई कारबाही गर्ने गरेको छ । प्रहरीले पैदलयात्रुलाई सोधपुछ गरी ईमर्जेन्सी भएकालाई छोडेको छ ।

बजार पूर्ण रुपमा बन्द छ । नेपालगञ्ज लगायतका क्षेत्रमा खाद्यान्न, औषधि पसल, तरकारी मण्डी जसता ठाउँमा साँझ भने भिड उस्तै हुने गरेको छ ।

यसले मानिसहरुमा संक्रमणको सम्भावना बढ्न सक्ने भन्दै नगरपालिकाले भिडभाड हुन नदिने प्रक्रिया अपनाएर खाद्य बस्तु उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।

तस्वीरमा बाँकेको कर्फ्यु दिउँसो र साँझ। श्रोत : रेडियो एनआरएन

प्रतिक्रिया दिनुहोस्