झुटो समाचार लेख्नेलाई रेखाको अनुरोध : ‘समाचार लेख्नेले अलिकति मानवताको पनि ख्याल गर्नुहोला’



१२ चैत्र २०७६, काठमाडौँ

नायिका रेखा थापाले सरकारले लकडाउनको घोषणा गर्नुभन्दा ३ दिनअघि देखि नै आफू लकडाउनमा रहेको बताएकी छिन् । चीनमा कोरोना भाइरस को संक्रमण बढेदेखि नै आफू सचेत भैरहेको उनले खुलाएकी छिन् ।

रेखाले आफूलाई आवश्यक पर्ने सम्पूर्ण सामान अगाडी नै जम्मा गरिसकेकी थिइन् । जसका कारण अहिले उनलाई खाद्यान्नको कुनै अभाव छैन । उनकी आमा यतिबेला विराटनगरमा भएकाले रेखा घरमा एक्लै छिन् । तर उनले घरमा एक्लै बस्दा आफूलाई कत्तिपनि बोर फिल नभएको बताएकी छिन् । हुन त रेखाले अरु समयमा पनि आफू कामबाहेक घरबाट बाहिर त्यति जाने नगरेकाले अहिले घरमै बस्न सहज भएको बताएकी छिन् ।

अहिले उनी घरको सम्पूर्ण काम आफैँ गर्छिन् र सोसल मिडियामा पनि अपडेट भने भैरहेकी हुन्छिन् । रेखाले अनावश्यक भ्रामक समाचार फैलाउने मानिसदेखि आफूलाई रिस उठेको बताइन् । उनले यसबेला सत्य समाचार मात्र प्रशारण गर्न आवश्यक भएको बताएकी छिन् ।

उनले भनिन्, ‘यसै त सबैको मनोवल कमजोर भइरहेको छ । त्यसमाथि यस्ता समाचारहरुले कतिलाई त्रसित र भ्रमित बनाउँछन्,’ रेखा भन्छिन्, ‘समाचार लेख्नेहरुले पनि अलिकति मानवताको ख्याल गर्नु नि !’

प्रतिक्रिया दिनुहोस्