दु:खद समाचार: उपचारमा खटिएकी नर्स नै संक्रमित, अरुलाई सर्न नदिन गरिन् आत्महत्या



१३ चैत्र २०७६, काठमाडौं

इटलीमा एक नर्सले कोरोना भाइरस संक्रमित भएपछि आत्महत्या गरेकी छन् । कोरोना भाइरस संक्रमितको उपचारमा दिनरात खटिदै आएकी ३४ वर्षीया ड्यानिएल ट्रेज्जीले आत्महत्या गरेकी हुन् ।

उनी इटलीमा कोरोना भाइरस संक्रमण सुरु भएदेखि नै संक्रमितको उपचारमा खटिदै आएकी थिइन् । उनले इटलीको लोम्बार्डी क्षेत्रमा सयौं संक्रमितको उपचार गरिन् । लोम्बार्डी इटलीमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

बेलायतको चर्चित पत्रिका टेलिग्राफका अनुसार कोरोना संक्रमितहरुको उपचारमा रातदिन जुटेकी उनले आफैँमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आत्महत्या गर्ने निर्णय लिएकी हुन्।

उनले आत्महत्या गर्नुअघि सुसाइड नोट लेख्दै भनेकी छन्, ‘कोरोना संक्रमितको उपचार गर्दागर्दै म आफै संक्रमित भएँ । अब अरु मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैन । त्यसैले अरु धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु।’

इटलीमा नर्सहरुको महासंघले उनको आत्महत्याको खबरले सबै चिकित्सक र सिंगो मुलुक स्तब्ध भएको बताएको छ । इटलीमा कोरोना भाइरसको उपचारमा खटिएका करिब ५ हजार स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएका छन् ।

इटली युरोपमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएको देश हो । जहाँ झण्डै ७५ हजार कोरोना संक्रमित भइसकेका छन् भने ७ हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेका छ ।

प्रतिक्रिया दिनुहोस्