कोरोना संक्रमित गायिका कनिका कपुर अस्पतालका लागि बनिन् टाउको दुखाइ, यस्तो छ कारण…



१३ चैत्र २०७६, काठमाडौँ

बलिउड नायिका कनिका कपुरमा कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । तर अहिले उनी अस्पतालको लागि पनि टाउको दुखाई बनेकी छिन् । कनिकाले एक अन्तवार्तामा आफूलाई अस्पतालमा डाक्टरहरुले कैदीलाई जस्तो व्यवहार गरेको बताएकी थिइन् ।

उनले आफूलाई राखिएको कोठा फोहोर भएको र लामखुट्टे पनि आउने गरेको बताएकी थिइन् । तर उनलाई राखिएको लखनउको गान्धी पीजीआई अस्पतालले एक विज्ञप्ती जारी गर्दै कनिकाको लागि अस्पतालमा सम्पूर्णमा सुविधा उपलब्ध गराएको बताएको छ ।

विज्ञप्तीमा देखिएको छ, कनिकालाई हर सम्भव सुविधा दिइएको तर यति हुँदाहुँदै पनि उनले बिरामीजस्तो नभइ स्टारजस्तो व्यवहार गरिरहेको जनाइएको छ । पीजीआइका निर्देशक प्रोफेसर आरके धीमानले बीबीसीसँग भने ‘हामीले अस्पतालमा उहाँलाई सबैभन्दा राम्रो सुविधा उपलब्ध गराएका छौं । उहाँलाई एसी कोठा दिइएको छ जसमा अट्याच्ड बाथरुम छ । सरसफाइको हरेक समय ख्याल गरिएको छ । कोठामा टिभी पनि छ ।’

त्यतिमात्र नभएर कनिकाले घरको खाना माग गरेकी थिइन् । त्यो त सम्भव थिएन । तर अस्पतालले छुट्टै किचनमा खाना तयार गरेर विशेष खाना उनको लागि उपलब्ध गराएको थियो । यस्तै प्रोफेसरले कनिकाले अस्पतालमा रहँदा स्टार नभएर बिरामी भएको सोच्न आवश्यक रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्