१३ चैत्र २०७६, काठमाडौं
नेपालस्थित अमेरिकी दूतावासले नेपालमा रहेका आफ्ना नागरिक अमेरिका लैजान अनुमति मागेको छ ।
दूतावासले अमेरिका फर्कन चाहने आफ्ना नागरिकहरुलाई लैजान दिन अनुमतिका लागि नेपाल सरकारलाई औपचारिक रूपमा आग्रह गरेको हो ।
आफ्नो ट्वीटरमा दूतावासले नेपाल सरकारको अनुमति पाएलगत्तै उडानको व्यवस्था गर्ने जनाएको छ । सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेसँगै एक साताका लागि लकडाउनको घोषणा गरेको छ ।
जसका कारण सडक एवं हवाई यातायात पनि पूर्ण बन्द छन् । लकडाउनको घोषणासँगै कुनै पनि अन्तर्राष्ट्रिय विमानले नेपालमा उडान भरेका छैनन् ।
कुनै पनि मुलुकले नेपालमा रहेका आफ्ना नागरिक लैजान चाहेमा नेपाल सरकारको स्वीकृति लिनुपर्ने हुन्छ ।
त्यसैकारण नेपालस्थित अमेरिकी दूतावासले पनि नेपालमा रहेका आफ्ना नागरिक लैजान नेपाल सरकारसँग अनुमति मागेको हो ।
तस्वीरमा नेपालस्थित अमेरिकन दूतावास। फाइल तस्वीर।