१३ चैत्र २०७६, काठमाडौँ
कोरोना भाइरसका कारण यतिबेला इटालीको अवस्था सबैभन्दा दयनीय रहेको छ । इटालीमा कोरोनाका कारण दैनिक रुपमा ३-४ सयको संख्यामा मानिसको ज्यान गइरहेको छ ।
यस्तै यतिबेला सामाजिक सञ्जालमा एक इटालियन कलाकारले आफ्नो गुनासो पोखेका छन् । उनले कोरोना भाइरसका कारण आफ्नी बहिनी गुमाए । तर विडम्बना उनले बहिनीको अन्तिम संस्कार भने गर्न पाएका छैनन् ।
कोरोनाका कारण निधन भएकी उनकी बहिनीको शव उठाउन उनलाई कसैले सहयोग गरेनन् । जसका कारण अहिले पनि बहिनीको शवलाई उनले खाटमा सुताएर राखेका छन् ।
लुका फ्रेन्जी जो एक कलाकारका साथै मार्सल आर्ट गुरु पनि हुन् । उनले कोरोना भाइरसका कारण मृत्यु भएकी आफ्नी बहिनीको शवअगाडि रुँदै आफ्नो व्यथा सुनाउँछन् ।
भिडियोमा लुकाले भनेका छन्, ‘म कसैको उत्तरको पर्खाइमा गएको रातिदेखि छु, तर कोही आएका छैनन् । ‘यो भिडियो बच्चा र बूढाबूढीलाई नदेखाउनुहोला, म यो समस्यासँग जुध्ने प्रयास गरिरहेको छु,’ लुका भिडियोमा भन्छन्, ‘मसँग ओछ्यानमा मेरी बहिनी छिन्, मरिसकेकी । मलाई थाहा छैन, मैले के गरुँ, मैले उनको अन्तिम क्रिया पनि गर्न पाएको छैन किनकि प्रशासनले मलाई सहयोग गरेन ।’
उनले भिडियोमार्फत भनेका छन्, ‘मैले सबैलाई अनुरोध गरेँ, मलाई कसैले पनि उत्तर दिएन, मेरी बहिनीको अन्तिम संस्कार गर्न पनि कोही घरमा आएको छैन ।’
यतिबेला लुका स्वयम पनि आइसोलेसनमा रहेका छन् । डाक्टरले उनलाई तुरुन्त कोरोनाको चेकजाँच गर्न भनिरहेका छन् । तर उनले कसैको सहयोग नपाएका कारण आफ्नो चेकजाँच समेत गराउन पाएका छैनन् ।