१४ चैत्र २०७६, काठमाडौं
ओहो ! कस्तो उराँठलाग्दो झिसमिसे । निन्द्राबाट ब्यूँझन्छु । चकमन्न सबैतिर । सन्नाटा चारैतिर । कोही बोल्दैनन् । केही सुनिँदैन । सदा त सवारीका टाँटाँट् टुँटुँट्हरु टन्न सुनिन्थ्यो । तर, अहिले केही सुनिन्न । म बस्ने निवासको वरिपरी । विगत दुई/तीन दिनदेखि ।
आफू बसेको घरको मूल ढोकासम्म नपुगिएको पनि ठ्याक्कै तीन दिन भएछ । लाग्छ, त्यहाँ पुग्नेबित्तिकै केही घटना घटिहाल्छ । त्यहाँ टेक्नेबित्तिकै बाँचिदैन । त्यहाँ पर्नेबित्तिकै फर्केर आइँदैन । साँच्चै नै यो बखत आफैँले आफैँलाई बडो नमज्जासँग तर्साइयो ।
दिनमै उपत्यकाका प्रायः कार्यक्रम अनि ठाउँमा पुग्ने मलाई एउटा भाइरस (कोभिड १९)ले घतलाग्दो गरी एउटै कोठाभित्र थुन्यो । कुनै विशेष काम नुहँदासमेत फ्रेस हुन भन्दै अनायास घुम्ने मलाई आफू विश्व भ्रमणमा निस्केर थुनेको छ । एउटा भाइरसले ।
मनमा केही डर छ । त्यसो त विश्वव्यापी रुपमा फैलिएर आफ्नै देशलाई पनि संक्रमित बनाइसकेको एउटा घातक रोग (भाइरस)सँग यत्ति डराउनु कुनै ठूलो कुरा हुँदै होइन । स्वभाविक नै लाग्छ, आफैँलाई । यद्यपि, मनको क्षेत्रफलको बढी कित्ता यसैले ओगटेको छ ।
बिहान उठेर टुसुक्क बस्छु । झ्यालबाट देखिने सफा आकाशले झस्काउँछ । खाली सडक देख्छु । सडकका सुरक्षाकर्मीहरु नियाल्छु । यत्तिकैमा मनमा अघि नै आइसकेको हुँदो हो । ‘कोरोना त्रास’ । अनायास बिच्किन्छु ।
कहिलेकाहीँ लाग्छ, ओहो ! अब छिट्टै मरिन्छ । फेरि लाग्छ, केही पनि हुँदैन/भइँदैन । त्यसपछि सामाजिक सञ्जालहरु चहार्छु । केही उत्साहित, केही सकारात्मक अनि मनोरञ्जनात्मक सामग्रीहरु देख्छु । केही हदसम्म हौसिन्छु । औंलाले हुत्याउँदै गरेको ‘निउज् फीड’मा अघि नै आइपुग्छ । माथि हौसिने मनको ब्याच असुल्ने निराशाजनक सामग्री ।
म आफू पनि उही क्षेत्रमा काम गर्ने भएकोले मसँग ‘निउज् सेन्स्’ भने गुम्दैन । यद्यपि पनि आफ्नै मनले आफैँलाई मिलाई-मिलाई तर्साइरहन्छ । पटक –पटक ।
“घुम्दै–फिर्दै रुम्जाटार” भनेझैं मन पुनः उही ‘कोरोना’मा ठोकिइसकेको हुँदो हो । दिमागमा उही चीन, इटाली, अमेरिकालगायतका बढी ‘कोरोना प्रभावित’ मुलुकहरु ‘क्लिक्’ भइसकेको हुन्छ ।
७/८ घण्टा अगाडि लगाइएको ढोकाको चुकुल तानेर पूर्वपट्टी रहेको बार्दलीमा पुग्छु । देख्छु, पूरै खाली सडक । सडकमा भौतिक गाडीहरु हुँदैनन् । तर, मनमा डरको एम्बुलेन्स् कुदेको कुद्यै हुन्छ ।
बार्दलीको केही समयपछि पुनः उही कोठातिर फर्किँदै गर्दा मनमा फुर्छ एउटा वाक्यांस । ‘साला कोरोना कति शक्तिशाली छ है ? विश्ववासीलाई आ–आफ्नै घरमा थुनेर आफू विश्व भ्रमणमा निस्केको छ ।” मन न हो । जे पनि सोच्न भ्याउँछ । जे पनि गर्न भ्याउँछ । मनले जे सोच्छ, त्यो सकारात्मक एकाधबाहेक कदापि नगर्नुस् । झनै यो समय त केही गर्दै नगर्नुस् । वश् ! तपाईँ आफ्नै घरमा बस्नुस् ।
त्यसैले मलाई भन्न मन लागेको छ । बसेरै जित्ने भनेको कोरोनासँगको युद्ध हो । संसारको कसैसँगको युद्ध तपाईँले बसेको बस्यै गरेर जित्नुहुन्न । ठोकुवा गर्छु । तर कोरोनासँगको युद्ध तपाईँ जत्ति सुरक्षित ठाउँमा बस्नुहुन्छ । त्यत्ति जित्नुहुन्छ ।
त्यसैले यो समय भनेको तनलाई काबुमा राखेर मनलाई डुलाउने बेला हो । के भयो र । अहिले बनाइराखौं, केही भविष्यका योजनाहरु । केही सफलताका सपनाहरु । केही जीवनका यथार्थहरु । देशलाई सन्चो भएपछि गरौंला नी हामी सबै मिलेर । तर, अहिले वश् ! बस्नुस् । बस्नुस् । । बस्नुस् । । ।
|तस्वीर डिजाइन-मनोज लामा| परिवर्तन खबर|