‘कोरोना, काल र कात्रो ’
सकारात्मक सोच्न थाले,
कोभिडलाई नो–भिड बुझिन्छ ।
कोरोनालाई करुणा सुनिन्छ ।
हेल्थलाई वेल्थ सुनिन्छ ।
लक डाउनलाई लोक डाउन बुझिन्छ ।
स्यानीटाईजर छैन ?
ठूलीटाईजर (साबुनपानी) त छ नी !
क्वारेन्टाईन टाईमलाई ।
क्वालिटी टाईम बुझिन्छ ।
आईसोलेसनलाई
माई सोलुसन सुनिन्छ ।
स्वास्थ्यकर्मीलाई सेवाधर्मी बुझिन्छ ।
डाक्टरलाई भगवान् सुनिन्छ ।
इम्युनिटी पावरलाई
युनिटी पावर बुझिन्छ ।
भाइरसलाई भिषा चाहिँदैन ।
कोरोनालाई निषा चाहिँदैन ।
तितो सत्य के हो भने,
कात्रोमा गोजी हुँदैन ।
पात्रोमा काल लेखिँदैन ।
कोरोना कहरबाट बच्न,
‘लकडाउन’को ‘कोरा’ मा बस्नु पर्नेहरुले
उल्लघंन गर्दै कोकोहोला गर्नेहरुलाई
कोर्रा हान्नु पर्ने बुझिन्छ ।
प्रकाशचन्द्र परियार
वुद्धनगर, एकान्तवास
२०७६ चैत १३, काठमाडौं
प्रिय जनस्वास्थ्यकर्मी,
सञ्चारकर्मी,
सुरक्षाकर्मी,
सरसफाईकर्मी,
दुध, औषधि, पानी,
तरकारी ढुवानीमा खटिएका चालकहरु,
एम्वुलेन्स, शववाहनका चालकहरु
लकडाउनको प्रतिकुल अवस्थामा जोखिम मोल्दै
अहोरात्र तपाईँहरुले गर्नुभएको अनमोल योगदान प्रशंसनीय,
र, नमनीय छ ।
कृपया तपाईहरु पनि
उच्च सतर्कताका साथ कार्यथलोमा होमिनुहोला
कोरोनाविरुद्ध सचेत रहनुहोला ।
हामी पनि ‘लकडाउन’लाई
शिरोपर गरेर बसिरहेका छौँ ।
तपाँईको सतर्कता सहितको क्रियाशीलता
सामान्य पेशागत कुरा मात्रै होईन
विशिष्ट सेवा हो ।
यो ‘लकडाउन’ले
रचनात्मक कुरालाई झन राम्रो बनाउँदै लगेको छ ।
र, त हामी कोरोना भन्दा करुणा जगाउँछौ ।
यतिबेला ‘लकडाउन’को
‘कोरोना विरुद्धको कोरा’ मा बसेर होला
कि, म त कोरोना विरुद्धका सेरोफेरोलाई
सकारात्मक हेर्न, बुझ्न र सोच्न थालेको छु ।
त्यसकै एउटा उपज हो है
यो मेरो कवितात्मक टिप्पणी
लेखक साझा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व पत्रकार हुन् ।
साभार : केन्द्रविन्दु
प्रकाशित मिती : १४ चैत्र २०७६, काठमाडौं