१४ चैत २०७६, विराटनगर
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आव्हन गरेको कोरोना भाइरस नियन्त्रण रोकथाम सम्बन्धि सर्वपक्षीय छलफल सम्पन्न भएको छ ।
मुख्यमन्त्री राईले शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्राङ्गणमा सर्वपक्षीय बैठक बोलाएर सरोकारवाला पक्षहरुसँग सुझाव लिएका हुन् ।
मुख्यमन्त्री राईले आपूर्ति व्यवस्था सहज बनाउन र दैनिक ज्यालादारी श्रमिकहरुलाई राहत प्याकेज उपलब्ध गराउने विषयमा सरोकारवाला पक्षहरुसँग सुझाव लिएका छन् ।
त्यस्तै मुख्यमन्त्री राईले प्रदेश सरकारले अहिलेसम्म कोेरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको लागि गरेका कामको बारेमा जानकारी गराएका छन् । उनले थप प्रभावकारी ढङ्गले अगाडि बढ्नको लागि सरोकारवाला पक्षहरुको राय लिएका छन् ।
बैठकमा राजनीतिक दलका नेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु, स्थानीय तहका जनप्रतिनिधि, अस्पतालका प्रतिनिधि, उद्योगी, व्यवसायीका प्रतिनिधिहरुको उपस्थिति थियो ।