कतारले कोरोना संक्रमण भएमा अवैध आप्रवासी श्रमिकको निःशुल्क उपचार गरिदिने



१७ चैत्र २०७६, काठमाडौं

कतारले अवैध आप्रवासी श्रमिकको पनि निःशुल्क उपचार गरिदिने भएको छ ।

आप्रवासी कामदारलाई उपलब्ध गराउने परिचय पत्र (अकामा) नभएका श्रमिकहरु कोरोनाबाट संक्रमित भएमा निःशुल्क उपचार गरिदिने भएको हो ।

कोरोना भाइरस ( कोभिड १९ ) संक्रमणको जोखिम बढ्दै गएपछि कतार सरकारले यस्तो निर्णय गरेको हो । कतारमा अवैध रुपमा काम गर्ने नेपालीहरुको संख्या पनि निकै ठूलो छ।

त्यस्तै कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक विकास मन्त्रालयकाअनुसार कतारले क्वारेन्टाइनमा रहेका सबै श्रमिकहरुलाई आधारभूत पारिश्रमिक तथा भत्तासमेत उपलब्ध गराउने भएको छ ।

कतार सरकारको निर्देशनअनुसार बन्द भएका उद्योग, कलकारखाना तथा विभिन्न कम्पनीमा कार्यरत श्रमिकहरुको पारिश्रमिक सेवासुविधा तथा खान बस्न लगायतको सेवासुविधा सरकारले उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमित श्रमिकहरुको पारिश्रमिक तथा सेवासुविधासमेत कट्टि नहुने श्रम तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ।

|तस्वीरमा कतार। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्