१७ चैत्र २०७६, काठमाडौं
विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाइरस)को महामारीका कारण स्पेनमा ७ हजार ३ सय ४० जनाको मृत्यु भइसकेको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार (आज) अपरान्ह जारी गरेको तथ्यांकअनुसार ८५ हजार १ सय ९५ जना संक्रमित रहेको छन् ।
यस्तै, ४६ हजार ६ सय जनाको उपचार भइरहेको छ भने ५ हजार २ सय ३१ जना सघन कक्षमा उपचाररत छन् ।
संक्रमितमध्ये १६ हजार ७ सय ८० जनाले स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । यसैगरी स्पेनभर उपचार्थ स्वास्थ्यकर्मीहरू भने १२ हजार ३ सय जना प्रभावित भएको मन्त्रालयको तथ्याङ्क छ ।
यसैबीच त्यहाँ १० नेपालीहरु पनि यसैको कारण अस्पताल भर्ना भएका स्थानीय नेपालीहरू बताउँछन् । एकजनाको सघन कक्षमा उपचार भइरहेको पनि उनीहरुले बताएका छन् ।
स्पेनको राजधानी मड्रिडमा मात्र ६ सयभन्दा बढी नेपालीको बसोबास रहेको अनुमान छ । अहिले सबैभन्दा कोरोना प्रभावित क्षेत्र राजधानी नै हो ।
स्पेनको बार्सिलोनामा कोरोना संक्रमणले महामारीको रूपमा फैलिँदै गरेको समयमा पास्नी तथा विभिन्न कार्यक्रमहरूमा संक्रमितहरूको सम्पर्कले नेपालीहरूको संख्या बढ्न सक्ने सामाजिक अभियन्ताहरूको अनुमान छ ।
नेपाली राजदूतावासले गैरआवासीय नेपाली संघसँग मात्र समन्वय गरेर काम गर्दै आएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसले सोमबार अर्थात् ३० मार्चदेखि ९ अप्रिलसम्म अत्यावश्यक काम बाहेक सम्पूर्ण क्षेत्रहरूलाई बन्द गराउन छुट्टै कानूनसमेत बनाएर लागू गराएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
|फाइल तस्वीर|