१८ चैत्र २०७६, काठमाडौं
प्युठानको स्वर्गद्वारी नगरपालिका ५ का वडाअध्यक्ष हिरामणि भण्डारीले सोमबार (हिजो) कोरोना संक्रमितहरु आउन सक्ने भन्दै एउटा झोलुंगे पुल भत्काए ।
वडाध्यक्षले नै भनेपछि त्यहाँका केही युवाहरुले रोल्पा र प्युठान जोड्ने लुम्दी खोलाको उक्त झोलुंगे भत्काएका थिए ।
“वडावासीहरुसँगै छलफल गरेर पुल भत्काइएको हो ।” वडाध्यक्ष भण्डारीले परिवर्तन खबरसँग भने, ‘त्यो पुलबाट भारत र रोल्पातिरबाट धेरै मानिस नआऊन् भनेर त्यसो गरिएको हो ।’
उनले आफ्नो वडामा रहेको पाँच पुलमध्येमा एक पुल मात्रै भत्काइएको बताए । यस्तै उनले उक्त पुल अपायक पर्ने हुनाले भत्काएको पनि प्रतिक्रिया दिए । पुल भत्किएपछि वडाध्यक्ष भण्डारीको सामाजिक सञ्जालमा सर्वत्र आलोचना भएको थियो ।
त्यसपछि निकालिएको पुलको पाता पुनः पुलमै राखिएको र कस्न भने बाँकी रहेको हामीसँग बताए । “पुलको पाता राखिसकिएको छ । मुख्यमन्त्रीज्यूले नै भन्नुभयो । पुलको पाता राखिएको छ ।” वडाध्यक्ष भण्डारीले थपे, ‘सामाजिक सञ्जालमा कोरोनाभन्दा यसको बढी चर्चा भएछ । नरपालिकाबाहिरकाले बढी आलोचना गरे । तर, हामी हाम्रो जिम्मेवारीप्रति सगज छौं ।’
|तस्वीरमा हिजो भत्काइएको पुल। श्रोतः फेसबूक|