पोर्चुगलमा ‘कोरोना’ : एउटै फ्ल्याटमा बस्ने ८ नेपालीलाई संक्रमण



१९ चैत्र २०७६, काठमाडौं

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका ८ नेपालीमा कोरोनाको संक्रमण भएको छ ।

उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो ।

उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

उनमा संक्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली संघ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले बताए ।

संक्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ ।

सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा कोरोना संक्रमण देखिने नेपालीको सङ्ख्या नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्