१९ चैत्र २०७६, काठमाडौं
विवादास्पद स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गरिएको छ ।
स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नी समूहसँग सम्झौता गरेको थियो । विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले नियमित कोरोना ब्रिफिङ्गमार्फत् जानकारी दिए ।
त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्याइएको थियो ।
तर, बिनाप्रतिस्पर्धा निकै महँगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भइरहेको थियो । विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालयले बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको पनि स्वीकारे ।
साथै ओम्नी समूहले सम्झौता अनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको उनले बताए । श्रेष्ठकाअनुसार पहिलो पटकमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ ।
यस्तै भोलि २ अप्रिलमा दोस्रो पटक सामान आइसक्नुपर्नेमा त्यो पनि सम्भावना नदेखिएको र यो कहिले ल्याउने भनेर प्रस्ताव पनि नगरेकाले सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालो सूचीमा राख्ने निर्णय भएको बताइएको छ ।
विभागले अब नयाँ खरिद प्रक्रिया सुरु गर्नेछ । ५ दिन मात्र समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने निर्णय भएको विभागका महानिर्देशक श्रेष्ठले बताए ।
|तस्वीरमा स्वास्थ्य सेवा महानिर्देशक महेन्द्र श्रेष्ठ। श्रोत|