मोदीको आग्रह : ‘आइतबार राति ९ बजे ९ मिनेट मैनबत्ती बालौं ‘



२१ चैत्र २०७६, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने आइतबार बेलुका ९ बजे देशभर सबैजनालाई एकैसाथ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो वा मोबाइलको फ्ल्यास लाइट बाली घरको ढोका वा बार्दलीमा ९ मिनेटसम्म टाढा-टाढा उभिन आग्रह गरेका छन् ।

शुक्रबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । कोरोना भाइरसको संक्रमण विरुद्धको लडाईमा सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउँदै, मोदीले यसलाई सबैको ऐक्यवद्धताको रुपमा अथ्र्याएका छन् ।

‘यसको एउटै उद्देश्य हो– हामी सबै एकसाथ लडिरहेका छौं,’ उनले भनेका छन्। ‘१३० करोड देशवासीको संकल्पलाई थप नयाँ उचाईमा लैजानका लागि यो गर्नुछ।’ उनले यो बेला हरेक व्यक्ति टाढा रहेर दूरी कायम गर्ने अनुशासनलाई कुनै हालतमा उल्लंघन नगर्न अनुरोध गरेका छन् ।

भारतमा कोरोना संक्रमित र त्यसका कारण मृत्यु हुनेको संख्या निरन्तर बढिरहेका कारण ठूलो जनसंख्या रहेको सो मुलुकमा यसले ठूलो महामारीको रुप लिने हो कि भन्ने सन्त्रास कायम छ ।

अहिलेसम्म कोरोनाबाट भारतभर झन्डै १ हजार ८०० संक्रमित भएको र ५० जनाभन्दा बढिको ज्यान गइसकेको छ ।

|तस्वीरमा भारतीय प्रम मोदी। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्