‘म केले मर्छु ?’
काँइलो,
उमेरले अधबैँसे
जो
बिहानै घरबाट निस्कन्छ।
र दिनभरी घामलाई छाता,
राप र तापलाई सितलता मानेर
पसिनाको कर्णाली बगाउँछ ।
साँझ पख
गलेको अनुहार,
एक खिली मुस्कान च्यापेको ओठ,
हातको झोलामा
दुई छाक जीवन बोकेर फर्किन्छ ।
र
बेलुकी सन्तोषको गुन्द्री ओछ्याएर
आनन्दले निदाउँछ ।
काँइलोको
यो दैनिकी जस्तै हो
तर दैनिकी हुँदै होईन,
किनकी
परिवर्तनको लागि टाउकेहरुले गरेको हड्तालले,
उसलाई कयौँ दिन
पसिनाको कर्णाली बगाउन दिएको छैन ।
उसले ओछ्याएको छैन सन्तोषको गुन्द्री,
र निदाएको छैन आनन्दको निन्द्रा ।
आज देशमा
सिमानाको बाटो भएर पसेको छ
एकहुल छिमेकी दुश्मनहरु ।
सरकारद्वारा उच्च सतर्कता नारा लगाउँदै,
देश भर लकडाउन घोषणा गरिएको छ ।
र फेरी काँइलोको दैनिकी
दैनिकी हुन पाएको छैन ।
यतिबेला काँइलो
झुपडीको क्वारेन्टाइन मा बसेर
बल्न नसकेको चुला
सल्किन नसकेको दाउरा
भरिन नसकेको भाँडा
हेर्दै
आफै सँग बारबार प्रश्न गरिरहेछ
‘म केले मर्छु ?’
भोकले या रोगले ?
प्रकाशित मिती : २४ चैत्र २०७६, काठमाडौं
-योङहाङ प्रदीप लिम्बु
धरान