‘कोरोना र चन्द्रीका’
अहिले कोरोनाको महामारीले विश्व आतङ्कित भएको छ । ज्ञान विज्ञान बोकेर गगनमाथि सयर गर्दै गरेका राष्ट्रहरूसमेत कोरोनाको थिलथिलोमा थलिन थालेका छन् । विश्वास गर्नै नसकिने गरि समाचार सम्प्रेषण भैरहेका छन् ।
यो सृष्टिको ऐतिहासिक दस्तावेजमा सायद पहिलो रेकर्ड नै होला यसरी घरभित्र लकडाउन भएर रोगसङ्ग लड्नुपरेको अवस्था । विश्वलाई दुखाएको कोरोनाले मलाई नदुखाउने कुरै भएन, दुखिरहेकी छु । कतै मृत्युको रेट सेकेन्डमा दोब्बर बढेको समाचारले दुखेकी छु र कतै भोकभोकै पिल्सिएका अनुहारले दुखेकी छु र कतै आफू पनि एक सुका सहयोग नगर्ने अनि अरुले गरेको पनि कुरा काटेर गौरव गर्ने भलाद्मिहरूको चिन्तन देखेर दुखेकी छु ।
सोच फरक हुन्छ, विचार फरक हुन्छ, यहि त हो समाज मन बुझाउन खोज्छु तर आफुले जे गरे नि ठिक अर्कोले गरेको सबै बेठिक देख्ने आँखाहरूको मोतिबिन्दु देखेर दया लाग्छ तर मान्छे चिन्ने अवसर पनि त हो भनेर सकारात्मक हुने प्रयत्न गर्छु । बेलाबेलामा छोराले भनेको कुरा सम्झिन्छु “आमा पुलिसले चोरलाई आफुजस्तो देख्न खोज्नु भनेको पीडा निम्त्याउनु मात्रै हो, चोरलाई चोरकै दर्जामा राखेर देख्न सक्नुपर्छ अनि मन दुख्दैन” ।
म मन नदुखाउने प्रयासमा हुन्छु । यो बेला भनेको आफुसङ्ग जोडिएका आफन्तजन, आत्मीय मनहरूको अवस्था बुझेर आबश्यक परे सहयोग आदान प्रदान गर्ने समय हो जस्तो लाग्छ । मैले पनि सकेसम्म सम्झने क्रममा आज बिहानै चन्द्रीकालाई फोन गरेर सोधेँ ।
म= “चन्द्रीका के छ खबर, सबैजना सञ्चै हो नि! खानेकुरा छ कि छैन! बाहिर ननिस्किनु है,केटाकेटिलाई नि सम्झाउनु, अहिले त कहाँ कतिखेर कोरोनाले छुन्छ थाहै हुँदैन , बाहिर देखिँदैन अनि रोग सरिहाल्यो भने उपचार नि हुँदैन, त्यसको दबाई बनेको नै छैन । त्यही भएर जोगिनु है नानी जोगिनु…”
चन्द्रीका= ” दिदी नमस्कार! के गर्नु दिदी साह्रै बिजोक छ । एकजनाको कमाइले सात जनाको जहान पाल्नुपर्छ, त्यो पनि सबै बन्द भयो । बुढोको आश नै छैन, दिनभरी काम गर्यो बेलुका भट्टिमा सकेर आउँछ । केटाकेटिको स्कूलको फि, खाना, खाजा,कोठभाडा अब के गर्ने होला? अब काम पनि सबै बन्द भैगयो पेट बन्द हुँदैन के गर्नु र……”
म= “तिम्रो काम कसरी बन्द हुन्छ र!! यो लक डाउन खुलेपछि शुरु भैहाल्छ नि”
चन्द्रीका= “खै दिदी अब काममा आउनु पर्दैन, घरमै बस्नु, पछि काम शुरु गरेपछि हिसाब गरौँला भनेका छन् सबैतिर । छ सात घर काम गर्थें, अहिले सबै बन्द भयो । अब यतिका दिनको पैसा कटाउँछ्न् सबैले , यता पसलमा कम्ता भाको छैन उधारो , खै के गरि तिर्नु! दशैँमा तीन दिन घर जाँदाको त पैसा कटाउँछ्न् अनि जुठा चिल्ला भाँडा र फोहोर कपडा चाहिँ थुपारेर राखिदिन्छन् । अब अहिले पनि यतिका दिन घरभरी मान्छे थुप्रेका फोहोर कति पो थुपारी राख्ने हुन् अनि पछि गानो जानेगरी सफा गर्नुपर्छ तर नगएको दिनको पैसा दिँदैनन् काम चाहिँ नगएको दिनको नि जम्मा गरेर राखिदिन्छ्न् । गरिब हुनु नि कम्ती नमिठो होइन नि दिदी के गर्नु र………”
चन्द्रीकाको कुराले स्तब्ध बनायो मन । धेरै वर्ष अगाडिदेखि मेरोमा नि लुगा धुन सघाउने चन्द्रीकाको काम वासिङ्गमेसिनले खोसिदियो तर पनि दिन बिराएर पस्छिन्, के कसो छ हेर्छिन्, केही भए दिन्छु खुसी भएर लान्छिन् सायद घर पुर्याएपछि बच्चाहरु नि खुसी हुँदा हुन् सम्झेर थोरै भए नि आत्मसन्तुष्टी मिल्छ ।
आफुले कमाएको दुइचार पैसा कोठामा राख्दा लोग्नेले जाँडसङ्ग साटिदिन्छ भन्ने चिन्ताले लुकाउने लकर मेरैमा सम्झिन्छिन् । गाह्रोसाह्रोमा आस गर्छिन् अनि समयमा नै फर्स्यौट गर्छिन् । उम्काएपछि नाक मुख नै नदेखाउने भलाद्मिहरुले पनि इमान्दारिता र नैतिकता भन्ने चिज चन्द्रीकाबाट नै सिके हुन्थ्यो सबैले जस्तो लाग्छ ।
उनको सबै दु:ख सुनाउने मान्छे सम्झिन्छिन मलाई सायद अनि त बेलाबेला पिडाले पाकेको घाउ निचोरेर पिप फाल्न यहिँ हाम्फालेर आइपुग्छिन् । मीठो मसिनो पाक्दा सम्झिन मन लाग्छ मलाई पनि । यसको मतलब उनी आफ्नै परिवारकी सदस्य लाग्छिन् । उनका कुरा सुनेर नआत्तिन सुझाएँ ।
आफुले सक्ने सहयोग गरौँला नि त भनेर आश्वसन दिएँ । यतिबेला मानसिक रूपमा बलियो बनाउन मद्द्त पुर्याउनु हाम्रो मानवीय कर्तब्य हो सोचेँ । अनि फेरि सोच्न थालेँ; वास्तवमा अहिले सहयोगी बोलाएर काम लगाउने समय होइन । सहयोगी भनेको आफुले नभ्याउँदा चाहिने हो । अहिले आफ्नो काम गर्न हामीसङ्ग प्रसस्त समय छ ।
आफ्नो काम आफैं गर्न सकिन्छ । काम गरेर सानो हुँदैन मान्छे बरू महान बन्छ । किनकी युरोप अमेरिका बनेको नै कामलाई प्राथमिकतामा राखेर सम्मान गरेर नै हो । काम अर्कैलाई लाएर आफू चाहिँ उपरखुट्टि लाएर मालिक हुन खोज्नु भनेको मानसिक दरिद्रता र सामन्ती सोच मात्रै हो । जब हामी घर बाहिरको या अन्य काममा ब्यस्त हुन्छौं , हामीसङ्ग समय हुँदैन तब सहयोगी राख्नु उचित हुन्छ ।
अहिले त सबै घरका सहयोगी जो बाहिरबाट काम गर्न मात्रै आउँछ्न् उनिहरुलाई काममा नबोलाऊँ, कोरोनाको जोखिम बढ्छ, बरू आफ्नै डेरामा आराम गर्न लगाऊँ । लकडाउन खुलेपछि आफू ब्यस्त हुन थालिन्छ अनि बोलाउँदा हुन्छ । तर अहिलेको समयको पनि पारिश्रमिक नकटाऊँ ।यस्तो बेलामा झन उनलाई हाम्रो सहयोगको खाँचो परेको हुन्छ । सधैंभरी हाम्रो गाह्रोसाह्रो उनले सघाइन् , अहिले उनलाई गाह्रो परेको बेला हामीले सहयोग गर्नुपर्छ ।
तलब पुरै पाउँछु भन्ने भयो भने मानसिक रूपमा उनी कमजोर हुन्नन् र पछि काम गर्न नि शक्ति रहन्छ, पिडाले टुक्राटुक्रा बाँच्नु पर्दैन, निर्धक्क बाँच्छिन् । अहिले सकसको समय भनेकै यस्तै ज्यामी मजदुरहरूलाई हो । त्यसैले कमसेकम आफुसङ्ग सम्बन्धित मजदुरहरूलाई न्याय गरौं । एक महिनाको उनको पारिश्रमिक दिएर हामी मर्दैनौँ, सकिँदैनौं, बरू हामीलाई भोलिका दिनमा फेरि काम लाग्ने मान्छेको परिवार बाँच्छ ।
एउटा परिवार बचाउनु भनेको पनि त सानो पुण्यको काम होइन । धर्म गर्न लाखौँको बत्ती बाल्नु पर्दैन, मूर्तीलाई पेडा कोचाउनु पर्दैन र दुधले नुहाइदिनु नि पर्दैन । यस्तै श्रमिकलाई रुवायनौँ भने त्यो भन्दा ठूलो धर्म केही हुँदैन। त्यसैले देवता खोज्न मन्दिर धाउनु आडम्बर मात्रै हो, देख्न सक्यौं भने यी नै सहयोगी श्रमिकका हृदयभित्र हुन्छ्न भगवान्, पुजा गर्ने कि घृणा गर्ने आआफ्नो विचार
सम्बन्धीत लेख :
⇒‘मानवता’
⇒‘रगतको आँसु !’
लेखिकाः मानवअधिकारकर्मी तथा साहित्यकार हुन् ।
प्रकाशित मितीः २५ चैत्र २०७६, काठमाडौं