२६ चैत्र २०७६, काठमाडौं
सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले कोरोना भाइरसको महामारीविरुद्धको अभियानका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने भएका छन् ।
डोर्सीले आफ्नो कुल सम्पत्तिको २८ प्रतिशत रकम सहयोग गर्ने घोषणा गरेका हुन् । उनले ट्विट गरेर सहयोगको घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘आवश्यकता बढ्दो क्रममा र अत्यन्त जरुरी रहेको छ ।’ डोर्सीले आफ्नो सहयोग रकम कहाँ जानेछ भन्ने स्पष्ट पारेका छैनन् ।
अनलाइन भुक्तानी सेवा प्रदान गर्ने एप्लिकेशन स्क्वायर र ट्वीटरका संस्थापक तथा दुवै संस्थाका प्रमुख कार्यकारी डोर्सीले सहयोगका लागि स्क्वायरमा आफ्नो शेयरको अंशबापतको रकम प्रयोग गरेका जनाएका छन् ।
उनले यसपछि महिला स्वास्थ्य र शिक्षामा जोड दिने बताएका छन् । कोरोना भाइरसका कारण विश्वभर ८२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १४ लाखभन्दा बढी संक्रमित भएका छन् ।
संक्रमण बढ्दै जाँदा संक्रमणविरुद्धका स्वास्थ्य उपकरणको अभाव भइरहेको छ । यसअघि ई–कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक ज्याक माले पनि विभिन्न मुलुकलाई स्वास्थ्य उपकरण र आवश्यक राहत सामग्री उपलब्ध गराएका थिए ।
|तस्वीरमा डोर्सी। फाइल तस्वीर|