२७ चैत्र २०७६, काठमाडौं
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा उपचार गराइरहेकी १९ वर्षीय युवती अंशु सापकोटासँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन संवाद गरेका छन् ।
मुख्यमन्त्री गुरुङले अस्पतालमा रहेकी अंशुलाई टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै मनोबल बढाउन सुझाव दिएका हुन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले मुख्यमन्त्री र अंशुबीच भएको कुराकानी सामाजिक संजाल फेसबूकमा राखेका छन् । मुख्यमन्त्री गुरुङले संवादका क्रममा आफूले अउपचारमा संलग्न अस्पतालका चिकित्सकहरुलाई उपचारमा ध्यान दिन सुझाव दिँदै आएको बताएका छन् ।
मुख्यमन्त्री गुरुङले अंशुसँगको कुराकानीमा भनेका छन्, ‘मन दह्रो पार्नु केही पनि हुँदैन । नियमित तातोपानी सेवन गर्नुहोला । म नियमित रूपमा चिकित्सकसँग कुरा गरिरहेको छु, चिकित्सकले राम्रो प्रगति भइरहेको मलाई भनेका छन्, ढुक्क हुनुस् ।’
जवाफमा अंशुले आफूले तातोपानी सेवन गरिरहेको र चिकित्सकले फोनमार्फत् आफूसँग सम्वाद गरिरहेको बताएकी छिन् । बेल्जियमबाट कतार हुँदै काठमाडौं आइ बाग्लुङ पुगेकी अंशुमा कोरोना संक्रमण देखिएको थियो ।
भिडिओ टेलिफोन संवादका लागि यहाँ क्लिक गर्नुस् ।-