२८ चैत्र २०७६, काठमाडैँ
नेपाली चलचित्र क्षेत्रका नायिकाहरुले लकडाउनको समय राम्रो काममा बिताइरहेका छन् । व्यस्तताका कारण परिवारलाई समय दिन नसकेका नायिकाहरु अहिले पुरा समय आफ्नो परिवारलाई दिइरहेका छन् ।
त्यसैका साथै किचनमा कहिल्यै नछिर्ने नायिकाहरुले खाना बनाउन पनि सिकिरहेका छन् । एउटी छोरी मान्छेले खाना बनाउनु सिक्नु निकै राम्रो कुरा हो । हुन त प्राय छोरी मान्छेलाई खाना बनाउन नआउने भन्ने कुरा नै हुदैँन । तर सेलिब्रेटी प्राय समय आफ्नो काममा व्यस्त भएकाले खाना बनाउने समय त्यति उनीहरुसँग हुदैँन । जसका कारण खाना बनाउन नआउनु स्वभाविक नै हो ।
लकडाउनमा नायिका केकी अधिकारीले धेरै खानेकुरा बनाउन सिकेकी छिन् । हत्तपत्त किचनमा नछिर्ने केकी आजभोली खाना आफै बनाउँछिन् ।
अहिलेसम्म पेनकेक, आलुचप, गर्लिक मसरुम, आलुदम लगायत परिकार बनाउन खप्पिस बनेको उनले बताइन् ।
केकीले युट्युवको सहारामा यी परिकार बनाउन सिकेकी हुन् । त्यसैले युट्युव नै उनका लागि गुरूसरह भएको छ ।
नायिका वर्षा सिवाकोटी पनि भान्सामा खासै नपस्ने नायिका हुन् । पकाउने सीप उनको पनि थिएन ।
तर, अहिले वर्षाले पनि धेरै परिकार बनाउन सिकेकी छिन् । उनले अहिले मासुका आइटमहरु, खिर, हलुवा, अचारलगायतका परिकारहरु निकै मीठो बनाउँछिन् । बर्षाले आफूले खाना बनाउन आमासँग सिकेको बताएकी छिन् । साथै केही परिकार बनाउन उनले पनि युट्युबको नै सहारा लिएको बताएकी छिन् ।
यस्तै कहिल्यै भान्सामा नपस्ने नायिकाको लिस्टमा रेखा थापाको नाम पनि आउँछ । अचम्मको कुरा त उनलाई भाडा माझ्न पनि आउँदैनथ्यो रे । हुन त घरमा काम गर्ने दिदि राखेका कारण रेखालेक काम गर्नु पर्दैनथ्यो । तर अहिले उनी घरमा एक्लै भएका कारण सबै काम एक्लै गरिरहेकी छिन् । रेखाले लकडाउनमा जाउलो पकाउन सिकेको बताएकी छिन् भने टलक्क टल्कने गरी भाडा माझ्न पनि सिकेको बताएकी छिन् ।
नायिका बर्षा राउतलाई खाना पकाउन रमाइलो लाग्ने उनले बताएकी छिन् । फुर्सद भएको समयमा उनी घरमा नयाँ परिकारहरु बनाउने गर्छिन् । झन अहिले त लकडाउनका कारण उनले सबैभन्दा धेरै समय नै किचनमा बिताउने गरेको बताएकी छिन् । अहिले हरेक समय घरमा खाना उनले नै बनाउने गरेकी छिन् । यो क्वारेन्टाइन बसाइँमा उनले सिकेको नयाँ परिकार पास्ता हो । उनी भन्छिन्, ‘मलाई विशेष गरेर नेपाली खानाको परिकारहरु बनाउन मनपर्छ । क्वारेन्टाइन बसाइँमा युट्युब हेरेर पास्ता बनाउन सिकेको छु ।’
नायिका बेनिशा हमाल अहिले सेल्फ क्वारेन्टाइनमा छिन् । उनी भान्सामा धेरै समय बिताउँछिन् । उनले धेरै परिकारहरु बनाउन सिकिसकिन् ।
बेनिशा भन्छिन्, ‘क्वारेन्टाइन बसाइँमा मैले सिकेका परिकारहरु धेरै छन् । मैले पास्ता, पेनकेक, प्रोटिन केक, आलु परठा, मम, सेलरोटी बनाउन सिकेको छु ।’
बेनिशाले आफूले केही परिकार बनाउन आफ्नी दिदिबाट र केही परिकार बनाउन युट्युब हेरेर सिकेको बताएकी छिन् ।
खासै खाना बनाउन सिपालु नभएकी नायिका पूजा शर्मा पनि हुन् । उनी आफै भन्छिन् कि उनलाई खाना त्यति बनाउन आउँदैन । तर क्वारेन्टाइनमा उनले रसगुल्ला र मम भने बनाउन सिकेको बताएकी छिन् ।
यी बाहेक अन्य नायिकाहरुले पनि लकडाउनको समयलाई खाना बनाउन सिक्दै सदुपयोग गरिरहेका छन् । जे होस लकडाउनका कारण नायिकाहरुले पनि घरमा काम भने मज्जाले नै गरिरहेका छन् ।