दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन : आपूर्ति मन्त्रालय



२८ चैत्र २०७६, काठमाडौं

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्याप्त मात्रामा खाद्यान्न रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी खाद्यान्नको अभाव हुन नदिन आपूर्तिमा सहजीकरण गरिएको जनाएको हो । मन्त्रालयले हाल सरकारी तथा निजी क्षेत्रसँग एक लाख २५ हजारभन्दा बढी मेट्रिकटन चामल, सात हजार २०० मेट्रिकटन चिनी, एक लाख ५८ हजार ९०० मेट्रिकटन नुन, १६ हजार ८१ मेट्रिकटन गेडागुडी र दाल १६ हजार ८६८ मेट्रिकटन तथा तेल मौज्दात रहेको जनाएको छ ।

मन्त्रालयले यही अवस्था रहिरहे पनि चार महिनालाई पुग्ने चामल र तीन महिनालाई पुग्ने तेल तथा दलहन रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । मन्त्रालयकाअनुसार ‘लकडाउन’ पश्चात् हालसम्म ३७ हजार ३०० मेट्रिकटन चामल, १४ हजार मेट्रिकटन दाल तथा गेडागुडी भित्रिएको छ ।

यस्तै, २१ हजार ६०० मेट्रिकटन तरकारी, पाँच हजार ९०० मेट्रिकटन फलफूल, ८० मेट्रिकटन दुग्धजन्य पदार्थ तथा १० करोड ८० लाख रुपैयाँ बराबरको औषधिजन्य कच्चापदार्थ, ५६ करोड १७ लाख बराबरको औषधि आयात भएको मन्त्रालयले जनाएको छ।

‘साफ्टा’अन्तर्गत् व्यापारलाई सहजीकरण गरेकाले आयातमा समेत सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । आपूर्ति सहजीकरणका लागी मोबाइल भ्यान तथा अनलाइनमार्फत् खाद्यान्न ढुवानी गर्न थालिएको मन्त्रालयले जनाएको छ ।

|तस्वीरमा मन्त्रालय। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्