२८ चैत २०७६, काठमाडौं
ब्रम्हाण्डमा रहेका प्राणीहरु मध्येको मानव जीवन सर्वोत्कृष्ट मानिन्छ । अरु प्राणीहरुमा चेतना र ज्ञानको स्तर कम भएकोले पनि मानव जीवनको स्तर अन्य प्राणीहरु मध्ये उच्च मानिएको हुनुपर्छ । त्यसैले एकपटकको मानव जीवन अरुको भलाईमा खर्चनुपर्छ । आपत्मा परेकालाई सहयोग गर्नुपर्छ भन्ने संस्कृति मैले मेरी आमाबाट सिकेँ । बाल्यकालीन समाजबाट सिकेँ । आफूभन्दा पछि परेका समुदायका जटिलताबाट सिकेँ ।
त्यसैले म स्कूले जीवनकालदेखि नै अरुलाई सहयोग गर्न प्रेरित भईरहेँ । माध्यमिक तहमा पढ्दाताका म आफूभन्दा साना कक्षाका भाइबहिनीहरुलाई पढाउने गर्थें । त्यो बेला विपन्न परिवारका निकै बालबालिकाहरुलाई महिनौं निःशुल्क ट्युुसन पढाएको अझै अहिले जस्तै लाग्छ । त्यसबेला मैले निःशुल्क पढाएका धेरैजसो भाइबहिनिहरुलाई पढाए वापत अनेरास्ववियुको सदस्य बन्नुपर्ने शर्त राख्थे । त्यो सम्झदा अहिले भने लाज लाग्छ ! यद्धपी कम्युनिष्ट समर्थकहरु नभएको मेरो गाउँमा त्यो बेलाका धेरै विधार्थीहरुलाई अनेरास्ववियुमा आवद्ध गराएकोमा अहिलेपनि गर्वानुभूति हुन्छ । मैले ठ्याक्कै टिपोर्ट त गरेको छैन तर विपन्न परिवारका ३०० भन्दा बढी बालबालिकाहरुलाई महिनौँ सम्म निःशुल्क पढाएर विधार्थी कालमै शैक्षिक दान गर्ने संस्कृतिको शुरु गरेको छु ।
विश्वविद्यालय तहमा पढ्दा मैले आफ्नै गोजीको पैसा दिएर त कसैलाई सहयोग गरिन् । तर क्याम्पस प्रशासन वा कतैबाट प्राप्त सहयोगबाट समस्यामा परेका धेरै विद्यार्थीहरुको पढाईमा मद्दत गरेको छु ।
२०६२ सालमा रुओन नेपाल शुरु गर्दा सरकारी विद्यालयमा पढ्ने विपन्न र कमजोर शैक्षिक पृष्ठभूमिका सयौँ बालबालिकाहरुलाई निःशुल्क पढाएको छु । विद्यालय उमेरमा पढ्न नपाएका करिब ४०० भन्दा बढी आमाहरुलाई सरस्वती नगरमा अवस्थित सगरमाथा स्कूलले निःशुल्क उपलब्ध गराएको कक्षाकोठामा करिब ३ वर्ष पढाएको छु । यी सबै कामहरु मैले अरुलाई सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाले नै गरेको हुँ ।
दाताहरु गुहारेरे भएपनि २०७२ सालको भूकम्पले क्षति पुर्याएका ७ जिल्लाका विभिन्न वस्तीहरुमा करोडौंको खाद्यान्न, शैक्षिक सामग्री सहयोग गर्दा प्राथमिक तहमा अध्यनरत आफ्नै छोरी आस्थालाई ४३ दिनसम्म भूकम्पले तहसनहस बनाएका वस्तीहरु हिडाएर आपतमा परेकाहरुको सहयोगको लागि आफैँ सहभागी हुदाको मज्जा अहिलेपनि स्मृतिमा ताजै छ । भूकम्पमा जर्जर भएका बस्तीहरु र अप्ठ्यारोमा परेमा बालबालिकाको डकुमेन्ट्री बनाएर भाडामा बसेका कतिपय साथीहरु गाडी र महलहरु ठड्याउने भेटिए । त्यस्ता साथीहरुको प्रगतिमा कहिल्यै आरिष नगरी विपन्नलाई दिन भनेर पठाएको एक रुपैयाँ पनि व्यक्तिगत रुपमा प्रयोग नगर्दा अहिलेपनि आत्मासन्तोष भईरहन्छ ।
तराईमा भएको बाढी पिडितको समयमा परिवर्तन खबरको समन्वयमा केहि सहयोगी संस्था र व्यक्तिहरुको विश्वासमा तराईका ४ जिल्लाहरुमा सकेको सहयोग गरे । त्योबेला अरुको विश्वासको भरमा आफू प्रभावित समुदायमा नपुग्दा भएको कमजोरीले अहिलेपनि आत्मग्लानी हुन्छ । यद्धपी धेरैजसो स्थानमा पठाएको सहयोगको सदुपयोग नै भयो । तर काठमाडौंका केहि प्रचारमुखी समाजसेवीहरुको विश्वासमा पर्दा सम्मान त होइन अपमान सहित व्यक्तिगत रुपमा ३ लाख ऋण थपियो । जीवनको यो नमज्जाको पाटोले समाजसेवा फरक अनुभूतिको रुपमा मेरो मानसपटलमा छचल्किरहन्छ । पवित्र भावनाले तराईवासी नेपालीहरुलाई गरेको सेवाले थोरै भएपनि भूगोलीय विभेद कम गर्नमा सहयोग पुगेपनि व्यक्तिगत स्मरणले सकारात्मक भन्दा नकारात्मक उर्जा नै दिइरहन्छ ।
त्यसैले विगत २ वर्षदेखि केहि विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा पढाउनु बाहेक खुलेर समाजसेवामा लागेको थिईन् । दान गर्न अघि सरेको थिईन् । विश्वभर फैलिएको कोरोना संक्रमणको असर यो रुपमा फैलिएला भनेर कसैले आँकलन गरेकै थिएनन् । पेशागत जीवनको जटिल समयमा मैले व्यक्तिगत रुपमा कसैलाई सहयोग गर्ने सोच पनि बनाएको थिईन् ।
आजभन्दा ३ दिन अघि सिन्धुलीका मेरा साथी अमर थापामगरले फोन गरेर कपनमा बस्ने सिन्धुलीका ४ जना श्रमिक साथीहरुले खाना खान नपाएकोले सहयोग गर्न अनुरोध गर्नुभयो । गोजीमा पैसै नभएपनि मान्छेले खान पाउनुपर्छ भनेर करिब १५ दिनलाई पुग्ने खाद्यान्न सामग्री भान्जा मेघराजको सहयोगमा उनीहरुकै बासस्थानमा पुर्याईदिए ।
आज विहान बालअधिकारकर्मी राजाराम बस्नेतले लाजिम्पाट र बालुवाटार आसपासको भित्रि सडकमा भएका सडक कुकुरहरुले खान नपाएर भोकै बसेको जानकारीमा आयो । बालबालिकाको हक हितमा क्रियाशील राजारामले सडकमा डुलिरहेका कुकुरलाई आफू लगायतका साथीहरु मिलेर मासु र भात पकाएर ३ दिन देखि बाँडिरहेको भन्ने सुनेपछि बिहानै खाना खाएर भान्जा मेघराजको सहयोगमा ३० केजीको १ बोरा चामल बालुवाटार पुर्याए। उनको मानवीय धर्मलाई भित्र भित्रै सलाम गरेर फर्किए ।
आज विहान उठेदेखि अस्थायी रुपमै बस्ने बूढानीलकण्ठ नगरपालिकालाई थोरै भएपनि संस्थागत सहयोग गर्ने ईच्छा जाग्यो । नगरपालिकाले अन्य नगरवासीबाट सहयोग उठाईरहेको र एउटा सचेत नागरिकको हैसियतले केहि न केहि त गर्नुपर्छ भन्ने अठोट लिएर फेसबुकको म्यासेन्जरमा केहि साथीहरुलाई म्यासेज गरे । परिवर्तन खबरमा आवद्ध केहि साथीहरुसँग सल्लाह गरे । अधिकांश साथीहरुले मेरो बचन काट्नु भएन । छोटो समय भएकोले बोर्डका साथीहरुसँग स्वेच्छिक सहयोग गर्न अनुरोध गरे । मैले सम्पर्क गर्दा अधिकांश साथीहरुले फरक–फरक ३ ठाउँमा सहयोग गरिसक्नु भएको रहेछ । त्यसैले बोर्डमा भएमा केहि साथीहरु र व्यक्तिगत सम्पर्कमा रहनुभएका केहि आफन्त र साथीहरुको बचनवद्धताले बूढानीलकण्ठ नगरपालिकामा थोरै सहयोग गर्न पाउँदा निकै खुशी लागेको छ ।
मलाई धेरै खुशी त त्यी सहयोद्धा, आफन्त र प्रियजनहरुप्रति लागेको छ । जसले आफ्नो प्रचारको कुनै भोक नराखी गोप्यदान गर्न सहमती दिनुभयो । निकै सम्पन्नहरुका लागि हाम्रो सामूहिक दान निकै थोरै हुनसक्छ । तर प्रचार गर्नको लागि दान गर्ने भन्दा पनि संस्थागत दायित्व निर्वाहका लागि व्यक्तिगत रुपमा मलाई र परिवर्तन खबरलाई जुन विश्वास गरेर थोरै समयमा सकेको सहयोग गर्नुभयो त्यसप्रति म आभारी छु, ऋणी छु । संस्थाले तपाईहरुको योगदानलाई कुनै दिन सम्झनेछ ।
थोरै रकम भएकोले संस्थागत सहयोग गर्न अप्ठयारो मान्दै मेघराज भान्जासहित नगरपालिका पुग्दा नगरप्रमुख उद्धव खरेल र प्रमुख सल्लाहकार सुन्दर पुर्कुटीले सहयोग ग्रहण गर्दै जुन बचन र व्यवहारबाट सम्मान गर्नुभयो । कुनै व्यक्ति वा संस्थालाई गरेको सहयोग वापत मैले जीवनमा प्राप्त गरेको सबैभन्दा ठूलो सम्मानको रुपमा स्मृतिमा रहिरहनेछ । अझै पनि दान गर्न सक्नेहरु दान दिनभन्दा लिन तयार भईरहेको समाज देख्दा मैले मासिक रुपमा लाखौं भाडा बुझाउने घरबेटीले अरुलाई सहयोग गर्न नसकुन तर म जहिल्यै सहयोग गर्न सकू भन्ने भावना बढेको छ । विपतको बेला बूढानीलकण्ठ नगरपालिकालाई सहयोग दिने र सहयोग लिने दुवैप्रति हार्दिक आभार र धन्यवाद !