२९ चैत २०७६, काठमाडौं
म भोको छु मेरो करको मलाई भात देउ ! मेरा अङ्गलाई छोप्ने कपडा देउ ! स्वस्थ जीवन जिउने आधारशिला देउ । पृथ्वी मेरो हो पृथ्वी तिम्रो हो पृथ्वीको मानवजाति प्रति उच नीचको भाव हटाऊ ! वृद्ध छु माया, स्नेह र बाच्ने आधार देउ, युवा छु रोजगारीको आधारशिला देउ । मैले के मागेको छु र–मेरा करबाट ज्वरो आउँदा सिटामोल मागेको छु ! मलाई तिम्रा विराट भावना भित्र हराउनु छैन मैले यो बसुन्धारा लाई प्रकृति विरूद्ध नगई स्नेह पूर्वक भोग्न पाउनुपर्छ ।
अहिले म सोच्न सक्दिन म को हु ? कहाँबाट आए, चेतन र प्रकृतिको दार्शनिक फन्दामा हराउनु छैन् । यूनानको थैलिज, एनैक्शेमैन्देर र एनक्श्मैनिजको दर्शन, पाइथागोरसको मूल तत्वको सुक्ष्म रूपमा हराउनु छैन । सुक्रराजको ज्ञान, अरस्तुको बिचारमा हराउनु छैन ! मार्क्स र गान्धीसँग प्रिति हाललाई लगाउनु छैन मलाई ! मलाई विश्व मानवजाति चाहिएको छ । तिमी दिदैनौं थाहा छ–तर पनि शासन सत्ता हो यसैले माग गरेको छु ! प्रत्येक सत्ताले सात पुस्ता सम्मका लागि डकारिसक्यो । तैपनि मलाई चेत छैन–तर, पनि मागिरहेको छु ! यो पुस्तौदेखि चलि आएको अप्राकृतिक परम्परा हो ! कहिलेसम्म यो नियतीको चक्र त भन्दिन मान्छे बाट निर्मित यो चक्रको अन्त्य त पक्कै हुन्छ होला ! सत्ता चोखो शुद्ध, जनहितकारी कहिल्यै भएन यसको जन्म देखि नै ।
सत्ताको आँखा हुँदैन–कान हुन्छ सुन्नकै लागि ! सत्ता एक्लै हिड्दैन सहारा चाहिन्छ कोटरीहरूको पक्ष विपक्षको । विगत र वर्तमानका सवै सत्ताहरू सपना बेच्ने कलाका निपूण स्टार र सुपरस्टार हुन् । पर्दा उघ्रियो, पर्दा बन्द भो ! आँखा मिच्दै बाहिर निस्कें ! सत्ता कता देखिन्छ कि भनेर आसे मनले आँखा डुलाउन थाल्यो । कठैबरा म मेरा बाजे बराजु र म आसैमा बाँच्न रितिझै बनेको छ ! म जन्मदा मेरो बाबुले दर्ताका लागि कर तिरे । बाबु मर्दा मैले दर्ताका लागि कर तिरे ! जन्म र मृत्युको बिचको आरोहमा प्रत्येक क्षण र पलको आयमाथि कर तिरे ! मैले आँखा डुलाएको मेरो करबाट सिर्जित दायित्वको माग हो ।
परम्परादेखि आजसम्म पनि कर सत्ताको वकौती भएको छ ! यदि दिन पर्यो भने पनि मेरो सिटामोलको कमिसन सत्ताको छोराले खान्छ, मेरो दैविप्रकोप बेलाको भात माथिको कमिसन सत्ताको ज्वाइले खान्छ । मेरो कात्रोको कमिसन सत्ता वाडीचुडी लिन्छ । यो सत्ता पृथ्वीको भूगोल भित्रको हो । कोही हाकीहाकी खान्छन् । कोही चित्रगुप्तलाई मिलाएर खान्छन् ।
यो विश्वको अप्राकृतिक रिति हो । खाउ–खाउ–नखाउ भन्दिन । मेरो कात्रो को कमिसन नखाउ ! गान्धीको नाममा खाए पनि खाउ । प्रजातन्त्रको र लोकतन्त्रको नाममा खाए पनि खाउ मार्क्सको नाममा खाए पनि खाउ । समाजवाद र पुजीवादको नाममा खाए पनि खाउ कम्वल ओडेर । सत्ताको भजन मण्डली–सत्ताले सधैं तर मारेकै हो इस्वी सम्वत् अघि–विक्रम संवत् अघि र यसपछि दिनमा पनि । यो युगको राजनीतिको वर्तमानमा मैले केही खान दिनका लागि दानी भएर भनेको होइन ! नखाने जातिले राजनीति गर्दै नगर्ने भएपछि र जनमतले पनि त्यसलाई नपत्याउने भएपछि लाटो देशको गाडो तन्नेरी हुन् ।
जनवाणी नै देववाणी भ्रान्तिपूर्ण भएपछि यथार्थको सम्झौता मात्र हो । सत्ताको विकल्प सत्ता नै हो या नयाँ रूप रङ्गको बोतल र रक्सीको कहानी जस्तै हो बुझन नसकेर मेरो जिज्ञासा र भावहरू पोखेको हुँ । राष्ट्रियताको नाममा राष्ट्रिय शोषण धेरैले धेरै पटक गरे । यती भन्दा अन्याय हुँदैन, यो भने बापत अपराधी भन्छौं भने पनि भन । सत्ताका लागि मरिमेट्नेहरु चाहे दल हुन्, चाहे विचार हुन् ती सबै आज कठघरामा खडा छन् ।