पत्रकारको प्रश्नमा नमज्जाले भड्किए राष्ट्रपति ट्रम्प



०२ वैशाख २०७७, काठमाडौं

ह्वाइट हाउसको कोरोनाभाइरस टास्क फोर्सको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो केही दिनदेखि नयाँ संक्रमितको संख्या स्थिर भएको जानकारी दिएका छन् ।

ट्रम्पले सोमबारको पत्रकार सम्मेलनमा भने, ‘न्यूयोर्क, न्यू जर्सी, मिशिगन र लुसियानाजस्ता हटस्पटमा अस्पताल भर्ना हुने प्रक्रिया सुस्त भएको छ । किनभने अमेरिकीले निर्देशनको पालना गरिरहेका छन् । तपाईं चार्ट पनि हेर्न सक्नुहुन्छ । सुरुमा एक लाख बढी मृत्यु हुने बताइएको थियो । हाम्रो संख्या कम हुनेछ । यसको ठोस् प्रमाण यो हो कि हाम्रो आक्रामक नीतिले काम गरिरहेका छन् ।’

उक्त पत्रकार सम्मेलनमा ट्रम्प अमेरिकी मिडियामा कोरोनाभाइरसबारे समाचार सम्प्रेषणका लागि पत्रकारसँग रुष्ट देखिए । ट्रम्पले एउटा भिडियो देखाउँदै त्यसलाई नक्कली समाचारको प्रमाण बताए । ट्रम्पले भने, ‘म आलोचकहरुलाई महत्व दिन्नँ तर जब आलोचना गर्नेहरु गलत हुन्छन् तब भन्न आवश्यक छ ।’

जब सिबिएसकी पत्रकार पाउला रीडले ट्रम्पलाई उनले फेब्रुअरी महिनामा कोरोनाभाइरसको संक्रमण रोक्नका लागि के काम गरे भनेर सोधिएको प्रश्न जवाफ दिन अस्विकार गरिरहे । अन्त्यमा ट्रम्प पाउला रीडमाथि भड्किँदै भने, ‘तपाईं झुटो हुनुहुन्छ भनेर तपाईंलाई थाहा छ ? के तपाईंलाई थाहा छ ? तपाईंको पूरा कभरेज गलत छ ।’

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी रोक्नका लागि आफूले सबैकुरा राम्रो गरिरहेको बताए । ट्रम्पले भने, ‘जब मैले सुरुवातमा नै संक्रमण रोक्नका लागि प्रतिबन्ध लगाएँ, त्यतिबेला पनि मेरो निकै आलोचना भयो ।’

अमेरिकामा ३० लाखमाथि कोरोनाभाइरस परीक्षण गरिएको ट्रम्पले बताए । उनले दैनिक १५ हजार जनाको परीक्षण भइरहेको पनि जानकारी दिए । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसका ५ लाख ८६ हजार ९ सय ४१ जना संक्रमित छन् भने २३ हजार ६ सय ४० को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्