सरकारले गर्‍यो चीनसँग जि टू जि मोडलमा स्वास्थ्य उपकरण खरिद गर्ने प्रस्ताव



०२ बैशाख २०७७, काठमाडौं

सरकारले चीनसँग स्वास्थ्य उपकरण सरकार-सरकार मोडलमा खरिद गर्न प्रस्ताव गरेको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ यी लाई टेलिफोन गरेर द्विपक्षी समझदारीमा नेपालले सामाग्री खरिद गर्ने प्रस्ताव गरेका हुन् ।

“मन्त्री ज्ञवालीले चीन सरकारसँग जी टू जी मोडलबाट आवश्यक स्वास्थ्य सामाग्री र उपकरण खरिदका लागि सहकार्य र सहयोगका लागि आग्रह गर्नुभएको छ ।’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ज्ञवालीले यसअघि चीनले गरेको मेडिकल सामाग्री सहयोगका लागि चिनियाँ विदेश मन्त्रीलाई धन्यवाद समेत दिएका छन् । ज्ञवालीले स्वास्थ्य सामाग्री र दैनिक उपभोग्य सामानको आपूर्तिका लागि नेपाल चीन नाकाहरु खुल्ला गरिएकोमा खुसी व्यक्त गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले ज्ञवालीलाई टेलिफोनका लागि धन्यवाद दिएका छन् । चीनको कोरोनाविरुद्धको लडाइँमा साथ र सहयोगका लागि समेत यी ले ज्ञवालीलाई धन्यवाद दिएका छन् ।

सरकारले यसअघि ओम्नी नामक कम्पनीमार्फत् चीनबाट सामान खरिद गरेको थियो । तर खरिद प्रक्रियामाथि प्रश्न उठ्न थालेपछि उक्त सम्झौता रद्द गरिएको थियो ।

सरकारले नेपाली सेनालाई समेत मेडिकल सामाग्री खरिदको जिम्मा दिएको छ ।

|तस्वीरमा परराष्ट्रमन्त्री ज्ञवाली र समकक्षी वाङ। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्