०२ बैशाख २०७७, काठमाडौँ
यबितेला कोरोना भाइरसको कारण पुरा विश्व नै त्रासित छ । दिनप्रतिदिन विश्वभर कोरोनाको संक्रमण बढ्दै गइरहेको छ । यसबाट नेपाल पनि अछुतो छैन । अन्य मुलुकको तुलनामा हाम्रो देश अहिलेसम्म सुरक्षित नै छ । तर विश्व स्वास्थ्य संगठनले बताए अनुसार नेपाल कोरोनाको उच्च जोखिममा पर्छ ।
त्यसका कारण हामीले अहिले नै सर्तक हुनु आवश्यक छ । नेपालमा कोरोनाको संक्रमण नफैलियोस् भनेर सरकारले देशलाई लकडाउन गरेको छ ।
तर यहाँ स्वास्थ्य सामग्रीको अभाव छ । दक्ष जनशक्ति सीमित मात्र छन् तर पनि महामारी विरुद्ध लड्नुको अर्को विकल्प छैन । कोरोनासँग दिनप्रतिदिन पहिलो चरणमा स्वास्थ्यकर्मीहरु र दोस्रो चरणमा नेपाल प्रहरी जोखिम मोलेर लडाइँ लडिरहेका छन् ।
यस्तै कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले कोरोनाबारे जनचेतना फैलाउने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । हुन त उनीहरुले यसअघि पनि २ वटा भिडियोहरु सार्वजनिक गरिसकेका थिए ।
तर यसपटकको भिडियो अलि फरक छ । यसपटकको भिडियोमा हाल देशको लागि लडिरहेका स्वास्थ्यकर्मी र प्रहरीको कथालाई देखाइएको छ । भिडियोमा धुर्मुस प्रहरी, सुन्तली स्वास्थ्यकर्मी र उनीहरुकी सानी छोरी सुबिहानी छोरीकै भूमिकामा देखिएकी छिन् ।
उक्त भिडियोमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हाम्रा भगवान् हुन् भनेर देखाइएको छ । सार्थ धुर्मुस र सुन्तलीले सबैलाई यस समयमा घरमै परिवारसँग सुरक्षित रहन पनि सबैलाई आग्रह गरेका छन् ।