०२ बैशाख २०७७, काठमाडौँ
नायिका रेखा थापाले सरकारले अहिले देशको लागि एकदमै राम्रो काम गरेकाले सरकारलाई धन्यवाद दिएकी छिन् । उनले कोरोनाको प्रभाव विश्वभर यसरी पर्ला भन्ने कसैले नसोचेका तर अब सबैले यो समस्याका समाधान गर्न आवश्यक रहेको बताएकी छिन् ।
वास्तवमा रेखा सरकारले गरेको लकडाउनलाई लिएर खुसी छिन् । उनले जनताको सुरक्षाको लागि लकडाउन सबैभन्दा राम्रो उपाय भएकाले यसलाई सबैले साथ दिन आग्रह गरेकी छिन् ।
तर केहीदिन अघि काठमाडौँ बाहिर जान चाहनेलाई २ दिनको लागि गाडी खोलिदिने निर्णय २ घण्टामै परिवर्तन भएपछि धेरैले प्रधानमन्त्रीलाई गाली गरे । उक्त कुरा भने रेखालाई मन परेन ।
उनले भनिन्, अस्ती सरकारले काठमाडौँबाट घर फर्कन चाहनेहरुलाई घर पठाउने भनि गरेको निर्णय शुरुमा भवनामा बोलेको हुनसक्छ तर पछि विज्ञहरुले यस्तो अवस्थामा यातायात नखोल्न सुझाव दिएपछि निर्णय फिर्ता लिएको हुन सक्छ । तर जे भने पनि त्यो प्रक्रिया भने गलत थियो ।
सरकार तथा सम्बन्धित मान्छेहरुलाई काम गरेर देखाउने अवसर हो यो समय । पार्टीको झन्डामुनि बसेर गाली गर्नु स्वाभाविक हो तर देशको नागरिकको हैसियतले हामीले आफ्नो दायित्व भुल्नु हुदैन ।