०२ वैशाख २०७७, काठमाडौं
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएकाहरुमा कोरोना भाइरस ( कोभिड १९)को संक्रमण पुष्टि भएपछि त्यस वरीपरिका क्षेत्रमा उच्च सर्तकता अपनाउन थालिएको छ ।
सोमबार (हिजो) र्यापिड टेस्ट गर्दा तीन जनामा कोरोना ‘पोजेटिभ’ देखिएपछि उनीहरुको स्वाब पुनःपरीक्षण गर्दा पनि दुई जनामा कोरोना ‘पोजेटिभ’ नै देखिएको हो ।
एक जनाको भने रिपोर्ट आउन बाँकी छ । सनसिटी अपार्टमेन्टमा रहेकामा कोरोना संक्रमण पुष्टि भएपछि आज (मंगलबार) त्यस नजिकैको क्षेत्र हात्ती डाँडा क्षेत्रमा ‘लकडाउन्’ थप कडाइ गरिनुका साथै तारबार लगाएर त्यस क्षेत्रलाई घेरिएको छ ।
कोरोना संक्रमित क्षेत्रका तथा अपरिचित मानिस हिँड्डुल गर्ने र कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले थप सतर्कताका लागि यस्तो उपाय अपनाइएको स्थानीय राजु कटुवालले परिवर्तन खबरसँग बताए ।
साथै अत्यावश्यक कामको लागि, खानेपानी लिन, फोहोर बोक्ने गाडी, एम्बुलेन्स लगायतलाई भृकुटी नगर गेटको बाटो प्रयोग गर्न पनि अनुरोध गरिएको उनको भनाइ छ ।
सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए । यसैबीच, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ ले ‘लकडाउन्’को पूर्ण पालना गर्न आग्रह गरेको छ ।
वडाले सूचना जारी गर्दै अत्यावश्यक खाद्यन्न पसल, डेरी तथा तरकारी पसल बिहान ४ बजेदेखि ८ बजे सम्म मात्रै खोल्न आग्रह पनि गरेको छ । यसबाहेक अन्य मासु तथा मदिरा पसल भने अर्को सूचना जारी नभएसम्मका लागि नखोल्न वडाअध्यक्ष कुन्दन खड्काद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।