०३ बैशाख २०७६, काठमाडौं
डियर पिटर,
सधैँ झैँ यसपाली पनि आउँदै गरेको नयाँ बर्षको शुभकामना तिमीलाई कसरी दिऔं बडो नतमस्तक भईरहेको छु । हरेक साल तिमी र म बिच जुहारी नै चल्थ्यो–तिम्रो समुन्द्रको सुन्दरता अधिक कि मेरो सगरमाथाको सुन्दरता अधिक । तर हामीहरूले आ–आफ्नो पक्षमा दलिल पेश गर्ने कोशिष गरिरहे पनि तिमी हाम्रो हिमालदेखि जति लालायित हुन्थ्यौं म पनि त्यो शान्त–बिराट समुन्द्र देखेर उत्तिकै प्रफुल्लित हुन्थेँ । यो पृथ्बीको सौभाग्य आखिर तिमी र म दुबैलाई प्राप्त थियो । हामी आफैँमा एक–अर्कामा अमोल थियौं । अनमोल थियौं ।
डियर पिटर, हामीलाई भूगोलभित्र बिभाजन प्रकृतिले कदापी गरेको थिएन बरू महत्वकांक्षी शासकहरूको जीत हारको होडबाजी थियो त्यो । उनीहरूले हामीलाई बिभाजीत गरिदिए । त्यतिमात्र कहाँ हो र प्रकृति माथिको दोहनको आधारमा तिमी अब्बल र म निर्बल भनेर होच्याउने संस्कारको बिकास पनि गर्न थाले शाशकहरु । प्रिय मित्र, मलाई थाहा छ तिमी केहि फरक छौं र त यो मित्रता कायम छ । सोच्छु तिम्रा हाम्रा आकाशहरू किन धमिलिरहेका होलान् । सोच्छु, हाम्रा वनजंगल, खानी, हरियाली, ढुंगा, माटो, बायुमण्डल तथा नदीमाथि किन यति धेरै हस्तक्षेप गरिएको होला । के यिनीहरूको बारेमा तिमी र मैले बर्षौदेखि चिन्ता ब्यक्त गरेको हैन र ? तिम्रो देशले लेखेको साहित्यमा म गरिब थिए किनकी मेरो भौतिक बिज्ञान निम्छरो थियो । तिमी सम्पन्न र बिकसित थियौं किनकी तिम्रो भौतिक बिज्ञान बिकसित थियो ।
बिकास पनि बिचित्र छ साथी । क्वान्टम थेऊरीको बिकास मात्र बिकास हो भन्ने त्यहि भौतिकवाद यदाकदा वातारण बिनाशको कुरा गरेर हामीलाई रल्लाई दिन पनि खोज्थ्यो कहिलेकाही तर यसको विपरित तिमी र मैले बिरोधमा पटकपटक बहश गरेका छौं । हामी स्टेफन हकिङस्लाई सधैं मिस गरिरहेका हुन्थ्यौं । मानव अस्तित्वलाई नै सखाप पार्ने काममा किन यस्तो होडबाजी हो ऊनीहरूको ? चिन्ता ब्यक्त नगरेको कहाँ होर । भत्काउने मात्र धेरै काम हुने मेरो देशको वाताबरण प्रदूषणको कुरूप रूप काठमाडौंमा प्रदूषणले छोपिएका हिमालहरू नदेख्दा विरक्तिएर अघिल्लो नयाँ बर्षमा मैले तिमी समक्ष पिडा पोखेका थिए । हामीहरू प्रकृतिलाई पूजा गर्नुपर्छ भन्ने संस्कारको मान्छे हौं तर अनगिन्ती अत्याचारहरु गरियो प्रकृति माथि । पृथ्बी भित्र देखापर्ने बिभिन्न क्षेत्रको ईको सिस्टमलाई नै बिगारियो ।
प्यारो मित्र, भूमिका अलि बढिनै भयोकी । के गर्ने पिडा छ दुबैलाई । अहिलेको भाईरस संक्रमणको कारण पनि यस्तै अप्राकृतिक गतिबिधि हुनकी भन्ने हाम्रो अनुमान हो । बिश्व पनि सायद यस्तै भन्न खोज्दैछ अहिले ।
हो । यो पटकको त्रासदीको यात्रा सानो एऊटा भाईरसको रूप लिएर डिसेम्बरमा चीनबाट सुरू भयो । हामीले त चिन्ता गर्ने बाहेक केहि थिएन । सोच्दै थियौ सिर्फ यो एउटा सामान्य सिजनल फ्लूको रूपमा बिसर्जन होस् । सबैले सावधानी र समाधानका बिषयहरु पनि सोचिरहेका होलान् भन्दै थियौँ तर आजको भौतिकबाद यसलाई आमरूपमा सिध्याउन अहिलेसम्म असफल छ । यो भाईरस सानो प्रोटिन को डल्लो छ रे तर मानब शरीर भित्र पस्दा यस्ले मानिसको फोक्सो खत्तम पार्ने रहेछ । यो भाईरस अहिले दिन दुई गुना रात चौ गुना बिश्वब्यापी बनिसकेको छ ।
पिटर तिम्रो देशमा हजारौंलाई यो भाईरसले निलीसकेको छ । तिमी रोईरहेका छौं । मैले केहि दिन अगाडि फोन गर्दा तिमीले फोन उठाएनौं । कहिलेकाही छुटफुट यस्तो हुदा तिमी हतारिएर रिप्लाई गरेको म मज्जाले बुझ्थें । म पनि ऊस्तै नगरेको भएपनि हुने तर मन मानेन् । तिमी पीडामा छौं तर तिमी कम्तीमा यत्तिमा भने ढुक्क पनि छौं : प्रकृतिमाथि ठूलाठूला अपराधहरू गरे पनि तिम्रो देश तिमीलाई बचाउन कुनै कसर बाँकी नराखेर लागि पर्नेछ । यो तिमीलाई पनि थाहा छ । मलाईं पनि थाहा छ तर म ढुक्क छु तिमी अनुशासनमा बस्ने मान्छे हौं । यो भाईरसले तिमीलाई छुनै पाउने छैन ।
प्रिय मित्र म हेरिरहेको छु, तिम्रा देशका फ्यूनरल हाऊसहरू अहिले कफीनका बाकसहरू नपाएर रोईरहेका छन् । एकातिर आफन्त गुमाऊनुको पीडा–अर्कोतिर भाईरसले संक्रमित बनाएका लाशहरू ब्यबस्थापन गर्न नसकेको डरलाग्दो अवस्था र लाचारीपन । फेरि त्यसमाथि संक्रमणको थप त्रास । न गाड्नु न जलाऊनु थुईक्क बिज्ञान तेरो बिकास । मानब संकटमा काम नलागेको तैले नै भन्ने गरेको एक्काइसौँ शताब्दीको यत्रो बिकास के का लागि ? कस्का लागि ?
पिर नगर प्यारो मित्र पिटर, एक दिन सब ठिक हुनेछ । हठी शाशकहरु अब धेरै समय राजनीति नगर्लान । प्रकृतिमाथि अब साँच्चिकै सम्मान गर्न सुरू गर्लान । आउने दिनहरू निश्चय नै थप सुरक्षित भएर देखा पर्नेछन् । जे गुमाउनू नै थियौ । गुमाऊनु नै पर्ने रहेछ । यसमा मन बाँध्नु बाहेक के नै हुन्छर !
म पनि तिमी बराबर नै चिन्तीत छु यहाँ । त्यसै पनि बिश्व मानब कल्याणको कुरा गर्ने तिमी र हामीलाई तिम्रो त्राशदी र मेरो त्राशदी भन्ने नै हुँदैन । म पनि यहाँ त्यहाँको अवस्था देखेर रोईरहेको छु । सरकारको उर्दि छ–घर भित्रै बस्नु । बस ! त्यहीँ दिनचर्या जारी छ कयौं दिनदेखि । कहिले काही मन बहलाउन डायरी लेख्छु । भूगोलले तिमी र म भनेर बिभाजन गरेपछि यो मेरो देशको बारेमा पनि केहि बोल्नै पर्यो ।
प्रिय मित्र, मेरो देशमा अहिले रोगीहरुको गिन्ती नगन्य छ । आशा गरेको छु यो गिन्ती अब उकालो नलागोस् । यी ११ जनाको निको सँगसँगै यो फ्लू संसार बाट नै हराओस् । यसो भनिरहँदा, म ढुक्क त छैन तर आशावादी भने छु । जीवन कष्टकर यहाँ पनि नभएको हैन । दैनिक बनिबुतो गरेर जीबन चलाऊनेहरू धेरै भएको मेरो देशमा अब भोकमरीको डरलाग्दो संकेत मैले देखिरहेको छु । छुद्र र भ्रष्ट राजनीतिको कुरुप रूपहरू भाईरसको धेरै संक्रमण नदेखिदै देखिन थालिसकेका छन् समाजमा । म कल्पना नै गर्न सक्दिन यदि त्यस्तै दिनहरू यहाँ ………। भो पिटर धेरै कल्पनामा जान चाहन्न । लकडाऊन उल्लङ्घन गर्ने निम्सराहरूलाई सरकार जेल हाल्दैछ तर औषधि र स्वास्थ सामाग्रीहरुको भ्रष्टाचार गर्ने, कालो बजारी गर्ने, भोकाहरूको राहत निजी गोदाममा लुकाउनेर किरा परेर बिषादी बनिसकेको चामल–दाल गरिबको नाममा बाड्नेलाई बरखास्त गर्न सक्दैन । हाम्रो बिडम्बना अलि फरक छ । यिनीहरू दूरगामी असर गर्ने प्रकारका छन् तर पनि म कालो बादलमा चाँदीको घेरा देख्ने प्रयास गरिरहेको छु ।
यस्तो गह्रुङ्गो छाती लिएर यस पटक हामीहरू कसरी शुभकामना साटासाट गरौं एक आपसमा । उमंग छैन । हर्षोल्लास छैन । बस यति भनौं आउने दिनहरू तिम्रा–हाम्रा राम्रा रहुन् । तिमी हामी सबैले जति सक्यो चाँडै यो नोबल कोरोना भाइहरुलाई परास्त गर्न सकौं । अर्को नयाँ साल तिम्रो समुन्द्र र मेरो सगरमाथा एक अर्कामा साटासाट गरेर नब बर्ष मनाउँला !
चन्द्रदीप लामिछाने
उप–प्राध्यापक
त्रिभुवन बिश्वबिद्यालय