०४ वैशाख २०७७, काठमाडौं
गत मंगलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बसेका छन् ।
आफ्नो ६२ वर्षीया गौमतीको घरमा निधन हुँदा पनि उनले भारतीय क्वारेन्टाइनबाट नेपाल आफ्नो जन्मभूमि घर आउन नपाउँदा कालीपारि कै क्वारेन्टाइनमा किरिया बस्नु परेको छ ।
तीन महिनाअघि भारतमा मजदूरी गर्न गएका भट्ट ‘लकडाउन्’पछि घर आउँदा धार्चुलामा अलपत्र परेका थिए । ‘लकडाउन्’, आइसोलेसन, क्वारेन्टाइन, सामाजिक दूरी कहिल्यै नसुनेका भट्टले यिनै शब्दका कारण आमाको निधन हुँदा पनि घर आउन पाएका छैनन् ।
‘मजदूरीकै लागि भारतका काला पहाड गएका हुन् ।’, उनका कान्छा भाइ सुनिलले भने, ‘चार भाइमध्ये एक्लै घरमा छु । नयाँ वर्षका लागि घर आउने भनेर तीनै जना दाइ भारतमै मजदूरी गर्न गएका थिए । दुई दाइ घर आएनन् । वासुदेव घर आउँदा धार्चुलामा अड्कियो ।’
विसु पर्व मनाउन एकसरो लुगाका लागि धन कमाउन गएका दाजु आमाको किरिया गर्न पनि स्वदेश आउन नपाउँदा भाइ सुनिल एक्लै किरिया बसेका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरसका कारण वासुदेव पनि घर आउन खोजेका थिए ।
‘तर, आउँदाआउँदै नेपाल–भारत दुवैतर्फ ‘लकडाउन्’ भयो । आफ्नो देश आउने प्रवेशद्वारमा ताला लाग्यो ।’ वासुदेवले भने, ‘अहिले आमाको ज्यान जाँदा पनि घर आउन नपाउँदा क्वारेन्टाइनमै किरिया बसेको छु ।
“केदारले समयमै काम गरेबापतको ज्याला नदिँदा आउन ढिला भयो, आफ्नै देश फर्किएर विसु मनाउने सपना थियो ।”, उनले भने, ‘विसुमा आमा गौमती र बुवा खेट्टेलाई भेट्ने सपना थियो । देश फर्किएर आमा बुबासँगै नयाँ वर्ष मनाउने सपनामा बज्रपात भयो ।’
सयौं नेपालीसँगै वासुदेव पनि धार्चुला छन् । ‘तीन दिनसम्म आफ्नो देश आउन नपाएपछि बाजी लगाएर महाकालीमा हाम हाम्रै आँखा अगाडि फाल हाने । हामी भने महाकालीमा ज्यानको बाजी लगाउन पाएनौँ ।’ उनको भनाइ छ ।
वासुदेव जिन्दगीमा पहिलो पटक सुनेको क्वारेन्टाइनमा २० बस्दै आएका छन् । क्वारेन्टाइनमा उनि जस्ता एक हजारभन्दा बढी नेपाली धार्चुलामा बसेका छन् । आँगनमै आएर पनि आफ्नो देश आउन नपाएका उनि दिनदिनै फोनमा परिवारसँग कुरा गर्दछन् ।
‘लकडाउन्’कहिले खुल्ने हो ? ‘लकडाउन्’ नगरे के हुन्छ भन्ने खासै मेसो नपाएकी उनकी आमासँग पनि दुई दिनअघि मात्र फोन भएको थियो । ‘मंगलबार साँझ घरबाट फोन आयो । फोन सामान्य थिएन । सोचेँ, आमाले गर्नुभएको होला ।’ वासुदेवले भने, ‘भाइको रुँदै फोन आयो । आमा बित्नुभयो ।’
देश फर्किन नपाएको उनको मनको घाउमाथि फोनबाट आएको खबरले नुनचुक छर्कियो । ‘आमा सम्झिएँ । मन भरिएर आयो । उनले भक्कानिँदै भने । उनका भाइ लोकेन्द्र भारतकै बेङ्गलोरमा र अर्का भाइ माधव दिल्लीमा छन् । भाइहरु पनि गाउँ पुगेका छैनन् । एक्ला भाइ घरमा छन् ।
आमाको मृत्युपछि घर आउँछु भन्दै नेता प्रशासकलाई फोन गरे पनि उनि घर आउन पाएनन् । अन्ततः उनी साथीभाइको सहयोगमा क्वारेन्टाइनमा सेतो लुगा लगाएर किरिया बस्न बाध्य भए ।
७२ किलोमिटर टाढा रहेका वासुदेवले आमाको सत्गती गर्न घर पुग्न नपाएपछि अरु नेपाली पनि निराश छन् । शैल्यशिखर नगरपालिका–१ को कार्यालयले वासुदेवलाई आमाको मृत्युपछि गरिने किरियाको आवश्यक काम गर्न बन्दोबस्ती मिलाइदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दै पत्राचार गरेको छ ।
वडाध्यक्ष भरतबहादुर खडायतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै मृत्युपछि गरिने कार्यका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरेका हुन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल वडा कार्यालयबाट आएको पत्रको आधारमा भारतीय प्रशासनसँग पहल गरिएको बताए ।
उक्त सामग्री नागरिकखबरबाट साभार गरिएको हो ।
|सांकेतिक/फाइल तस्वीर|