कोरोनाको भ्याक्सिन पत्ता नलागेसम्म लकडाउन् खोल्नु हुन्न : अध्ययन



०५ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को भ्याक्सिन पत्ता नलागेसम्म विश्वभर भइरहेको ‘लकडाउन्’ पूर्ण खुला गर्न नमिल्ने एक अध्ययनले जनाएको छ ।

चीनको महामारीलाई आधार मानेर गरिएको उक्त अध्ययनको नतिजा मेडिकल जर्नल द लान्सेटमा प्रकाशित छ । दैनिक जीवनमा चीनले गरेको कडाइकै कारण कोभिड १९ को पहिलो लहर देशमा धेरै भूभागमा फैलन पाएन ।

तर अनुसन्धानकर्ताहरुले अपरिपक्व रुपमा ‘लकडाउन्’ खुला गर्दा दोस्रो लहरको संक्रमण निम्तनसक्ने सम्भावना औंल्याएका छन् । अहिले विश्वभर फैलिएको कोरोनाको उद्गम मानिएको उहान शहरमा गत साता [८ अप्रिल]मा अधिकारीहरुले ७६ दिने ‘लकडाउन्’ खुला गरेका थिए ।
यद्यपि, रेल र पर्यटकीय क्षेत्रमा भीड जम्मा हुने जोखिम देखेका अधिकारीहरुले केही न केही रुपमा कडाई अझै कायम राख्नेछन् ।

‘नियन्त्रणका नियमले संक्रमितको संख्यालाई धेरै तल्लो तहमा झारेका छन् । तर कोभिड–१९ विरुद्ध हर्ड इम्युनिटी (सामूहिक रोग प्रतिरोधी क्षमता) नभएको अहिलेको अवस्थामा संक्रमण फेरि बढ्न सक्छ । व्यापार, कारखाना सञ्चालन, विद्यालय फेरि खुल्दा र सामाजिक गतिविधि बढ्दा कोभिड–१९ को संक्रमण फेरि फैलनेछ र विशेषगरी विदेशबाट रोग आयात हुने जोखिम बढ्नेछ ।’

यस अनुसन्धानमा संलग्न लेखकमध्ये एक हङकङ विश्वविद्यालयका प्रोफेसर जोसेफ टी उले भनेका छन् । सरकारले कडाई विस्तारै खुकुलो गर्ने र संक्रमणलाई नजिकबाट निगरानी गर्ने कार्य नगरे संक्रमणको गति बढ्ने चेतावनी उनले दिएका छन् । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्