कोरोनालाई पराजित गर्दे दोश्रो संक्रमित प्रसिद्धी श्रेष्ठ भइन् डिस्चार्ज



०६ वैशाख २०७७, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणपछि अस्पताल भर्ना भएकी दोस्रो कोरोना संक्रमित युवती आज (शनिबार) अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

कोरोना संक्रमण देखिएपछि चैत १० गते काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकी दोस्रो संक्रमित प्रसिद्धी श्रेष्ठ पूर्ण रुपमा निको भएर आज अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

तानव र चिन्तासहित अस्पताल भर्ना भएकी उनी कोरोनालाई जितेपछि आज जीतको मुस्कानसहित अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनलाई पूर्ण निको भएपछि आज (शनिबार) टेकु अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

फ्रान्सबाट आएकी ती १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।

रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरे पनि उनीहरुमा भने नेगेटिभ देखिएको थियो ।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी पनि उपचारपछि घर फर्किसकेका थिए। योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

अन्य २८ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने उनीहरु सबै अवस्था सामान्य रहेको छ ।

|तस्वीरमा प्रसिद्धी श्रेष्ठ। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्