०६ वैशाख २०७७, काठमाडौं
कोरोना भाइरस (कोभिड–१९)लाई जितेर फर्किएकी प्रसिद्धी श्रेष्ठले अस्पतलामा रहँदा आफूले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट सम्मान र सद्भाव पनि उत्तिकै पाएको बताएकी छन् ।
२७ दिन लामो अस्पताल बसाइका क्रममा आफूले स्वास्थ्यकर्मीबाट पेशागत मात्र नभई व्यक्तिगत सद्भाव पनि उत्तिकै पाएको उनले बताइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित कोरोना ब्रिफिङ्गमा आज (शनिबार) आफ्नो अवस्थाबारे जानकारी दिन उपस्थित भएकी उनले कोरोना संक्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताइन् ।
⇒कोरोनालाई पराजित गर्दे दोश्रो संक्रमित प्रसिद्धी श्रेष्ठ भइन् डिस्चार्ज
⇒कोरोना संक्रमित हुँदा पनि आत्मबल बढाउनुस्, केही हुन्न : संक्रमित प्रसिद्धी श्रेष्ठ
उनले भनिन्, ‘कोरोनाको संक्रमण भयो भन्दैमा हारेस् खानु हुँदैन, तर आत्मबल भने बलियो बनाउनुपर्छ । केही हुन्न ।’ कोरोना संक्रमण देखिएपछि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकी उनी आज पूर्ण स्वास्थ्य लाभ लिएर घर फर्किएकी हुन् ।
उनी फ्रान्सबाट कतार हुँदै गएको चैत ४ गते नेपाल आएकी थिइन् । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनी चैत १० गते अस्पताल भर्ना भएकी थिइन् । उनी नेपालमा दोस्रो कोरोना संक्रमित थिइन् भने निको भएर घर फर्किने दोस्रै व्यक्ति हुन् ।
हालसम्म नेपालमा ३० जना कूल संक्रमितमध्ये २८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुको सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
|तस्वीरमा संक्रमित प्रसिद्धी श्रेष्ठ। सौजन्यः नेपाल टेलिभिजन|