०६ वैशाख २०७७, काठमाडौं
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले र्यापिड डायग्नोस्टिक टेस्ट् (आरडीटी) रिपोर्टले भ्रम र त्रास उत्पन्न गर्ने गरेकाले त्यसलाई प्रयोग गर्न बन्द गर्नुपर्ने बताएको छ ।
सो पार्टीको स्थायी समिति बैठकले आरडीटीलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत मान्यता नदिएकाले सरकारले त्यसलाई गर्न बन्द गरी डब्लूएचओको मापदण्ड अनुसार पीसीआर लगायतका विधिबाट परीक्षणलाई व्यापक बनाउनु पर्नेमा जोड दिएको छ ।
बैठकपछि महासचिव बैद्यद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरसजन्य प्रकोपको रोकथामका लागि खुला सिमाना नियन्त्रण गर्नु पर्ने माग प्राय सबैतिरबाट र मुख्यतः भारतसँग सिमाना जोडिएका प्रदेशबाट उठ्न थालेकाले निश्चित नाकाहरु खुला राखेर बाँकी सिमानामा तारबार लगाई सधैका लागि सीमा बन्द गर्नुपर्नेतर्फ अहिलेबाट नै बहसको थालनी गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै बैठकले उपयुक्त कार्यक्रम तथा योजनाका आधारमा शिक्षा तथा स्वास्थ्य क्षेत्रको राष्ट्रियकरणका लागि सशक्त आवाज उठाउनु पर्ने निर्णय गरेको छ ।
सो पार्टीले लकडाउन गर्नु पर्ने स्थिति अनिश्चित भएका कारण सरकारले उपत्यका तथा बाहिर विभिन्न प्रदेशहरुमा अलपत्र परेका नेपाली नागरिकलाई आआफ्ना घरसम्म जानका लागि आर्थिक तथा सवारी साधनको व्यवस्था मिलाउन माग समेत गरेको छ ।
कोरोना सङ्क्रमणको रोकथामको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई यथेष्ट पीपीई व्यवस्था गरेर सरकारले खटाएको ठाउँमा जान अनिवार्य गर्नुपर्ने भन्दै सरकारले उनीहरुको जीवन बीमा र उचित सुविधाको ग्यारेन्टी गर्दा पनि काममा नजाने डक्टर, नर्स, एम्बुलेन्स ड्राइभर लगायतलाई उपयुक्त कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
राहत वितरणमा हुँदै आएको भ्रष्टाचार तथा मनोमानी बन्द गर्नुपर्ने र राहतको सामान सबैभन्दा पहिला विपन्न परिवारलाई दिने व्यवस्था मिलाउनु सरकारसँग सो पार्टीको माग छ ।