कोरोनाको निर्मूल नभएसम्म लकडाउन खुल्दै खुल्दैन : प्रधानमन्त्री ओली



०७ बैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउन नखुल्ने बताएका छन् ।

शनिबार साँझ नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससका सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन लकडाउन प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताए ।

कोरोना भाइरसले विश्वमा तहल्का मच्चाईरहेका बेला नेपालमा सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले कोरोना भाइरस सङ्क्रमणले नेपालमा विकराल रूप लिन नपाएको प्रधानमन्त्रीको भनाइ थियो ।

नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीले स्वदेश आउन नपाएको गुनासोलाई सरकारले कसरी सम्बोधन गर्दैछ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भारत सरकारले होटलमा राख्न खोज्दा दसगजामा जम्मा हुनुलाई अलपत्र भन्न नमिल्ने बताए। कोरोना साम्य भएपछि कोरोनारहित भएर मात्र उनीहरु घर फर्कनुपर्ने पनि ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्