०७ वैशाख २०७७, काठमाडौं
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले आफू कोरोनाविरुद्धको अभियान सञ्चालनका क्रममा मन्त्रालयमा उपस्थित भएका जानकारी दिएका छन् ।
अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड १९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउन मन्त्रालयमा आफू उपस्थित भएको उनले आइतबार (आज) विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् ।
“पछिल्ला दिनमा मसँग जोडिएर सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित प्रशारित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।” डा. पुनद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘यस सम्बन्धमा आइतबार म कार्यरत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पत्र प्राप्त भएको छ । उक्त पत्रानुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा रहेकोले आजकै मितीमा मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको छु ।’
यस्तै उनले मन्त्रालयको पत्रलाई आफूले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएको उल्लेख गरेका छन् । यसअघि उनीमाथि मन्त्रालयले कारबाही गर्ने समाचारहरु बाहिरिएपछि मन्त्रालय तथा मन्त्रीको चौतर्फी आलोचना भएको थियो ।
|तस्वीरमा डा. पुन। फाइल तस्वीर|