वुहानका वैज्ञानिक भन्छन्, ‘कोरोना भाइरस कृत्रिम हैन, मानिसले बनाउन सक्दैन’



०८ वैशाख २०७७, काठमाडौं

महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सिंगो विश्व आक्रान्त छ । संक्रमित र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दो छ । उपचारपछि निको हुनेको संख्या पनि विस्तारै बढिरहेको छ ।

अहिलेसम्म नभेटिएको कोरोना उपचारको उपायको खोजी पनि विश्वभरका वैज्ञानिकहरुले गरिरहेका छन । यसैबीच विश्वका केही मुलुकबीच कोरोना भाइरसको उत्पत्ति र फैलावटबारे विवाद पनि चलिरहेको छ ।

पछिल्लो समय कोरोना भाइरस चीनको वुहानमा उत्पन्न भएर संसारभार फैलिएको भन्ने खबरले पनि केही तरंग ल्यायो । यो खबरको पक्ष र विपक्षमा थुप्रै टिका टिप्पणीहरु पनि भए ।

यही विषयमा चीनले आफ्नो नयाँ दावी प्रस्तुत गरेको छ । चीनको वुहान ईन्स्टिच्युट अफ भाइरोलोजीका निर्देशक युआन झिमिङले पहिलो पटक मिडियामार्फत् वुहानबाट भाइरस उत्पन्न गराइ विश्वभर फैलाएको तर्कलाई खण्डन गरेका छन् ।

‘ईन्स्टिच्युटमा कसरी अनुसन्धान गरिन्छ र भाइरसको नमूनालाई कसरी सुरक्षित गरिन्छ भन्ने बारेमा हामीलाई राम्ररी थाहा छ । म दावीका साथ भन्छु कि, भाइरस प्रयोगशालाबाट फैलिएको हैन । हाम्रो मुलुकमा नियम कानून निकै कडा छन् । हामीले गर्ने कुनै पनि खोज अनुसन्धानका लागि राज्यद्वारा तय गरिएका सबै नियम, कानून र निर्देशनहरुको कडाईका साथ पालना गरिन्छ । यहि कारणले चीनका कुनै पनि प्रयोगशालाबाट भाइरस फैलिएको हैन भन्ने कुरामा म विश्वस्त छु ।’ उनले भनेका छन् ।

चीनविरुद्ध आरोपपूर्ण तर्क गर्दै आएका युरोप र अमेरिकाप्रति लक्षित गर्दै झिमिङले भने, ‘केही मुलुकहरु बुझ पचाउँदै चीनमाथी भ्रमपूर्ण आरोप लगाइरहेका छन । वास्तवमा यो दुर्भाग्यपूर्ण छ । यस्ता आरोपहरुमा कुनै सत्यता छैन । यस्ता आरोपहरुले कोरोनाको विश्वव्यापी महामारीसंग लड्ने सामूहिक प्रयास र अभियानलाई नोक्सानी मात्रै पुर्याउँछ ।’

युरोपेली र अमेरिकीहरुको आरोपको चर्को शब्दमा खण्डन गर्ने क्रममा वुहान ईन्स्टिच्युट अफ भाईरोलोजीका निर्देशक युआन झिमिङले आफु स्वयं एक वैज्ञानिक भएको नाताले भाईरसलाई मानिसले बनाउन नसक्ने दावी गरे ।

उनका अनुसार प्रयोगशालामा भाइरसको उत्पादन र प्रसारको काम गरिएको हैन । अहिले महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाईरस कृत्रिम रुपमा सिर्जना गरिएको भन्ने कुनै प्रमाण पनि नभेटिएको वैज्ञानिक झिमिङको तर्क छ । एजेन्सीको सहयोगमा–

|तस्वीरमा झिमिङ। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्