०८ बैशाख २०७७, काठमाडौँ
कुनैपनि चलचित्रलाई सफल बनाउनमा चलचित्रको गीतले सबैभन्दा महत्वपूर्ण भूमिका निभाएको हुन्छ । आजभोली दर्शकहरु चलचित्रको गीत सुनेर चलचित्र हेर्न जाने गरेका छन् । तर गीत राम्रा भएका सबै चलचित्र सफलता भने पाएका छैनन् ।
अन्य बर्षको तुलनामा यसबर्ष कम चलचित्र रिलिज भए । अझ कोरोनाको कारणले फागुनको पहिलो हप्तादेखि नै सबै चलचित्रका प्रदर्शन रोकिए । चलचित्र कम प्रदर्शनमा आएपछि यसपटक चलचित्रका गीत पनि कमैमात्र रिलिज भए । आजभोली धेरै गीतले युट्युबमा करोड भ्यूज सजिलै पाउने गरेका छन् ।
आज हामी २०७६ सालमा प्रदर्शनमा आएका करोड क्लबमा पुग्न सफल फिल्मका गीतहरु बारे चर्चा गर्नेछौँ ।
तिम्रो घरको वरिपरी
चलचित्र म यस्तो गीत गाउँछु २ मा समावेश तिम्रो घरको वरिपरी गीतले निकै नै चर्चा पायो । पल शाह र पूजा शर्मा फिचर्ड रहेका उक्त गीतमा अस्मिता अधिकारी र सोनम तोप्देनको आवाज रहेको छ । गीतलाई दर्शकले निकै नै रुचाए । यो समाचार तयार पारिरहदाँ उक्त गीतमा १२ मिलियनभन्दा बढी भ्यूज प्राप्त छ ।
पिरतीको मिठो तिर्सना
विर विक्रम २ को पिरतीको मिठो तिर्सना बोलको गीतले पनि दर्शकको सर्वाधिक माया पाउन सफल भयो । चलचित्र देउता मा समावेश पिरतीको मिठो तिर्सना गीतलाई विर विक्रम २ मा रिमेक गरेर राखिएको थियो । तारा प्रकाश लिम्बु र मेलना राईको आवाज रहेको गीतमा पल शाह, नाजिर हुसेन र बर्षा सिवाकोटी फिचर्ड छन् । यो गीतलाई अहिलेसम्म १८ मिलियन बढीले हेरिसकेका छन् ।
भिजिट भिषामा
मह सञ्चार र किरण केसीले निर्माण रहेको फिल्म ‘दाल भात तरकारी’ को ‘भिजिट भिषामा’ गीत समेत करोड क्लव प्रवश गर्ने गीत बन्न सफल भएको छ । हरिबंश आचार्यको शब्दमा शम्भुजित बास्कोटाको संगीत रहेको यस गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
दुबो फुल्यो
कबड्डी कबड्डी कबड्डी को दुबो फुल्यो गीतले पनि नसोचेको सफलता पायो । दुबो फुल्यो गीतमा चलचित्रका अधिकांश कलाकार फिचर्ड छन् । गीतमा हर्क साउदको शब्द, हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर छ । गीतको भिडियोको निर्देशन रेनशा वान्तवा राईले गरेकी हुन् । भने, कोरियोग्राफीको काम वाइल्ड रिपर्ज ग्रुपले सम्हालेको छ ।
साली मन पर्यो
यो बर्ष रिलिज भएका चलचित्रका गीतमध्ये सायद सबैभन्दा धेरै भ्यूज र चर्चा कमाउन सफल गीत नै साली मन पर्यो हो । हेमराज बिसी निर्देशित चलचित्र घामड शेरे को साली मन पर्यो गीतले निकै नै चर्चा पायो । गीतमा निकै लोकप्रिय जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् । गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको आवाज रहेको छ ।