०८ वैशाख २०७७, काठमाडौं
मनुष्यलाई सर्व श्रेष्ठ प्राणी भनिएको छ । तर आजको यो युगमा आएर हामी मनुष्यनै कस्तो तुच्छ अनि कञ्जुस स्वाभावका भएका छौं । फेसबूके साथीहरु दुःख नमान्नुहोला । कृपया ! दुःख त त्यसलाई लाग्छ जसले मनन् गर्छ । फेसबूकमा साथीहरु ५,००० पुग्दा पनि लाइक र कमेन्टमा भने अति नै कञ्जुस्याइँ देखिन्छ ।
कतिपय अवस्थामा नारीहरुलाइ नै हामी सपोर्ट गर्दैनौं । किन गर्दैनौं ? कि त इगोले गर्दैनौं कि त डरले । यी दुवै कुरा आफ्नो वर्गीय उत्थानका लागि घातक हुन् । एउटी नारीले आम नारीको प्रतिनिधित्व हुनेगरी वर्गीय प्रतिनिधि कथा लेख्ने साहस गर्दा हामी त्यसमा लाइक र कमेन्ट गर्न समेत हिच्किचाउँछौं ।
तपाईं हाम्रो एउटा लाइक र कमेन्टले तपाईं हाम्रै प्रतिनिधित्व गर्ने अर्की नारीलाई प्रोत्साहन हुन सक्दछ । अझै लेख्न र बोल्न बल मिल्न सक्दछ । प्रत्येक व्यक्तिको सकारात्मक कुराले उच्च स्थान पाउन सक्दछ । त्यसैत महिलालाई अझै पनि दोस्रो दर्जाको नागारिक सम्झिने अनि महिला बोले पोथी बासेको भन्ने समाज ज्यूँदै छ ।
यस्तो समाजलाई चुनौती दिँदै महिलालाई पनि मान्छेको परिभाषाभित्र समेट्न हरेक तह र तप्कामा नैतिक दबाब दिन मैदानमा उत्रिएका यस्ता जुझारू नारीलाई तपाईं हामी नै कतिको प्रोत्साहन गरिरहेका छौं ? के यी मुद्दाहरू व्यक्तिका मात्रै हुन् र ? आम नेपाली महिलाका प्रतिनिधि आवाज होइनन् र ? यदि त्यसो हो भने पढेर आफ्नो धारणा राख्न किन हिच्किचाउँछौं ?
एउटी नारीले अर्कि नारीलाई सहयोग नगर्ने हो भने नारी आन्दोलन कसरी सफल हुन्छ ? वास्तवमा यस्तै प्रश्नले घोचिरह्यो आज रातभर मलाई अनि केही जिज्ञासा राख्न मन लाग्यो ।
मलाई चित्त नबुझेको कुरा के भने मैले डा. रेणुका सोलु म्यामको परिवर्तन खबरमा प्रकाशित ‘कतिपय डरलाग्दा हिंसाहरु घरभित्रै लकडाउनमा लक भएर बसेका छन्’ शिर्षकको एउटा ईन्टरभ्यू पढें, साह्रै मन पर्यो । म उहाँको लेख रचना प्रायः सबै पढ्छु अनि तुरुन्तै शेअर् गर्छु । उहाँको लेखाइमा हरेक नारीको कथा बोलेको हुन्छ अनि मलाई नी बोल्ने लेख्ने हिम्मत पलाउँछ । यो ईन्टरभ्यू हेर्दा पनि आम मानव समुदायलाई नै सचेत बनाउने खालको छ भने झन हामी नारी समुदायलाई त अत्यावश्यक कुरा पनि हो जस्तो मलाई लाग्दछ ।
तर त्यसमा नै हामी नारी जातिले नै पिठौरा घात गरे जस्तो महसुस भयो, बेवास्ता गरेजस्तो भान भयो । नारी प्रतिनिधित्व स्वरुप खासै कमेन्ट देखिन शेअर् त परै जाओस् ।
समाजमा भएका तितो यथार्थ बाहिर ल्याउनु एकदमै आवश्यक छ । जुन उहाँको ईन्टरभ्यूमा प्रष्ट छ । तपाईँ हामी यसरी मौन बसिदिँदा यस्ता सामाजिक दुर्व्यवहारले अझै बढी स्थान पाउन सक्दछन् भने यससम्बन्धी आवाज बुलन्द पार्नेको पनि मन मरेर जान्छ । यस्ता बुलन्द आवाजलाई निरुत्साह गर्न हिंश्रकहरु झन बलिया हुन्छन् ।
हामीले सोच्न जरुरी छ कि हामी हिंश्रकलाई बलियो बनाउने या हिंसाको विरुद्धमा बोल्नेलाई बलियो बनाउने ? त्यसैले यसका विरुद्धमा वा न्यायका लागि निकालिएको लिखित दस्तावेजको पक्षमा तपाई हामी सम्पूर्ण नारी वा पुरुष एक भएर जुट्नु आवश्यक छ भने नारी त झन आफ्नो समुदायको हक र हितका लागि एकतावद्द हुन अति आवश्यक छ ।
यो एक अर्काको साथ र सहयोग बिना सम्भव पनि छैन । समाजमा भएका सामाजिक हिंसाविरुद्ध होस्टेमा हैंसे गर्दै एक जुट हुन अतिनै आवश्यक छ । नारीवादी तथा महिला अधिकारकर्मीहरुको हौसलास्वरुप हामीले साथ सहयोग गर्नु अति आवश्यक छ ।
कुनै लेख पढेर सहयोग गरौं कुनै लेख पढेर सम्झेर मनन् गरौं । हामीलाई र हाम्रो जीवनका लागि अतिनै फलदायी हुनेछन् । समाजमा राज गर्दै आएको सामाजिक दुरव्यवहारलाई हामी सबैले मिलेर सदाका लागि विसर्जन गरौं । नारी सक्षम भए घर परिवार समाज हुँदै राष्ट्र सक्षम हुन्छ भन्ने म्यामको कुरा सबैले चिन्तन मनन् गरौं ।
नारी एकता जिन्दावाद !
माया रोकाया ।
अङ्ग्रेजी शिक्षा केन्द्रीय विभाग, त्रिभुवन विश्वविध्यालय, कीर्तिपुर काठमाडौं