०८ बैशाख २०७७, काठमाडौँ
अहिले पुरा देशमा कोरोनाको नराम्रो प्रभाव परेको छ । कोरोनाको त्रासकै कारण अहिले देशलाई लकडाउन गरिएको छ । जसका कारण दैनिक मजदुरी गरेर गुजारा चलाउने मजदुरहरुलाई दैनिकी चलाउन गाह्रो भैरहेको छ ।
यस्तै नेपाली सेलिब्रेटीहरु अहिले आफूले सक्नेजति कोरोना पिडितलाई सहयोग गरिरहेका छन् । पल शाह, बर्षा राउत, बर्षा सिवाकोटी, छक्का पञ्जा टिम, किरण केसी लगायतका कलाकारसँगै नायिका आँचल शर्मा र उनका श्रीमान उदिप श्रेष्ठले पनि कोरोनाका कारण समस्यामा परेका मजदुरहरुलाई सहयोग गरेका छन् ।
नायिका आँचल शर्माले एक सय विपन्न परिवारलाई सहयोग गरेकी छिन् । लकडाउनका कारण समस्यामा परेका परिवारहरूलाई आँचल र उनका श्रीमान् उदीप श्रेष्ठले राहत वितरण गरेका हुन् ।
आँचलले क्षेत्रपाटी क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेको बताइन् । आपतको समयमा सकेको सहयोग गर्नुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गरेको उनको भनाइ छ ।
केहीसमय अघिमात्र विवाह गरेकी आँचललाई धेरैले विवाहमा अनावश्यक खर्च गरेको बताएका थिए । त्यतिमात्र नभएर आँचलले विवाहमा लगाएको लेहेगां र गरगहनाको पनि मजाक बनाइएको थियो । धेरैले आँचलले बढी खर्च गर्नुको सट्टा असहायक व्यक्तिहरुलाई सहयोग गर्दा राम्रो हुने पनि बताएका थिए । अहिले विवाद गर्ने सबैलाई आँचलले गतिलो जवाफ दिएकी छिन् । अहिले आँचलको आलोचना गर्नेले नै उनको तारिफ गरिरहेका छन् ।