०९ वैशाख २०७७, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)को उपचार तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता भएको छ ।
नेपालका तर्फबाट गत बिहीबार पठाइएको सम्झौतापत्रमा चिनियाँ पक्षले २१ अप्रिल (आज) हस्ताक्षर गरेको हो । नेपालले चिनियाँ पक्षले उपलब्ध गराएको स्वास्थ्य सामग्रीको मूल्यलाई स्वीकार गर्दै सम्झौतापत्र पठाएको थियो ।
सम्झौता भएको दुई दिनभित्र नेपालले रकम पठाउनुपर्ने नियमअनुसार सोमबार रकम पठाइएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार पैसा पठाएको एक सातामा स्वास्थ्य सामग्री आइपुग्ने छ ।
सम्झौताअनुसार ६७ किसिमका ३ सय ४० टन स्वास्थ्य सामग्री चीनबाट ल्याइनेछ । सरकारले नेपाली सेनामार्फत् स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेसँगै कोभिड १९ क्राइसेस म्यानेजमेन्ट सेन्टर अपरेसन (सीसीएमसीं–अप्स) मार्फत् खरिद प्रक्रिया अघि बढाइएको हो ।
स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा रक्षा मन्त्रालयमार्फत् नेपाली सेनाले जिटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री ल्याउन लागेको हो । सेनाले स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालयमार्फत् भारत, चीन, दक्षिण कोरिया, सिंगापुर र इजरायललाई पत्र पठाएको थियो ।
त्यसमध्ये चीन र भारतले नेपालको प्रस्तावप्रति चासो देखाउँदै आवश्यक औषधि उपलब्ध गराउन सक्ने जनाएका थिए ।
|फाइल तस्वीर|