०९ बैशाख २०७७, काठमाडौँ
कोरोनाका कारण समस्यामा परेका मजदुरहरुलाई नेपाली चलचित्र क्षेत्रका कलाकाहरुले आफूले सक्ने सहयोग गरिरहेका छन् । त्यसका साथै कलाकारहरुले सामाजिक सञ्जालमार्फत कोरोनाबारे सबैलाई सचेत पनि गराइरहेका छन् ।
यस्तै सामाजिक अभियान्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले पनि कोरोनाका कारण समस्यामा परेका मजदुरहरुलाई सहयोग गर्ने भएका छन् । धुर्मुस स्वयमले यो कुराको जानकारी दिएका छन् ।
‘यो संकट र महामारीको बेला लकडाउनको पालना गर्नु हामी सबैको कर्तव्य हो, हामी पनि लकडाउनको पालना गरी घरबाट नै विभिन्न सन्देशमूलक सामग्रीहरु बनाइरहेका थियौं,’ धुर्मुस भन्छन्, ‘कोरोना संक्रमणका कारण लकडाउन लम्बिँदै गर्दा धेरै जनामा अभाव र संकट सिर्जना भएको छ, अब यो समयमा सबैजना मिलेर मानवीय धर्म निर्वाह गर्नुपर्छ ।’