१० वैशाख २०७७, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक पार्टी एकतापछि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर बनाउन निरन्तर प्रयासरत रहेको उल्लेख गरेका छन् ।
नेकपाको ७१ औं स्थापना दिवसका अवसरमा वक्तव्य निकाल्दै अध्यक्ष दाहालले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको उल्लेख गरेका छन् ।
“पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्न विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि सम्पूर्ण नेता कार्यकर्तालाई अपील गर्दछु ।” उनले प्रेस विज्ञप्तिमार्फत् भनेका छन् ।
उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले लक्ष्यप्रति समर्मित हुन प्रेरणा र ऊर्जा दिएको भन्दै एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न पनि अपिलसमेत गरेका छन् ।
यस्तै कोरोनाविरुद्ध सरकारको प्रयासमा सहकार्य गरी विज्ञले सुझाएका सुरक्षाका उपायलाई दृढतापूर्वक अवलम्बन गर्दै एकताबद्ध संघर्षमा होमिन सम्पूर्ण नेता कार्यकर्तालाई सुझाव दिएका छन् ।
|फाइल तस्वीर। श्रोत|