ईश्वरलाई विन्ती !
हिजोसम्म गुलजार आलिशान थियो
आज शमशानजस्तो बन्दैछ शहर
सधैं अर्काको खबरमा रमाउने मान्छे
आज स्वयं नै बन्दै जाँदैछ खबर ।
पल्लो छिमेकमा रूवाबासी चल्दा
अब त सोध्न पनि पो डराउँछ मान्छे
हिजोसम्म समाज समाज भन्दैथ्यो
आज एक्लै बस्न मन पराउँछ मान्छे ।
कसैको मुस्कानमा भोल्टेज छैन हौ
शोकले हो कि अरू नै थोकले हो
भित्र भित्रै निचोरिँदै गएको देखिन्छ
संक्रमणले नै होकि भोकले हो ।
तर सारा देश नै त ‘लक-डाउन’ छ
आफ्नो ‘च्यापु-लक’-मा रोएर के गर्नु ?
अगाडि थालमा जाउलो छैन
घरिघरि हात धोएर के गर्नु ?
हे प्रभु ! अब त केही दया देखाऊ
कोरोना होइन करुणा पठाऊ ।
सी के श्रेष्ठ, नाट्य शिल्पी, सामाजिक चिन्तक
प्रकाशित मितीः १० वैशाख २०७७, काठमाडौं