१० बैशाख २०७७, काठमाडौं
बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको महामारीको कारण भएको बन्दाबन्दीले तुलनात्मक रुपमा म आजकाल फुर्सदिलो भएको छु र बर्षौंदेखि सम्पर्कमा नआएका ब्यक्तिहरुसँग पनि सम्पर्करत हुन प्रयास गरिरहेको छु ।
यसै क्रममा आज बिहान मैले कोरियामा रहेको एकजना चिनजानका पूर्ब सहयोगी भाईलाई हालखबर के छ भनेर टेक्स्ट म्यासेज पठाए । जवाफमा उनले म त बर्बाद भए, ७ बर्ष अघि बिहे गरेको श्रीमतीलाई, ३ बर्ष देखि अनवरत कोशिष गर्दा पनि कोरिया ल्याउन नसक्ने अवस्था आएकोले घर फर्कने तयारी गर्दैछु भन्ने म्यासेज पठाए । कुरो के भएको रहेछ भने, उनले ७ बर्ष अघि स्थानीय निकायमा विवाह दर्ता गराएका रहेछन् । स्थानीय निकायको विवाह दर्ताको प्रमाणपत्रमा फलानाकी नातीनी, फलानाकी छोरी फलाना ठाँउ बस्ने बर्ष २७ की फलानीसँग उनको सामाजिक परम्परा अनुसार विवाह भएको हो भनिएको रहेछ । तर जुन मितीमा बिहे गरियो त्यो मितीमा दुलही २६ बर्ष ११ महिना ३ दिनको भएकी रहिछिन् ।
हुन पनि नेपालमा जन्मदिनको भोलिपल्टै उमेरमा अर्को एक बर्ष थपिदिने अचम्मको प्रचलन छ । उक्त स्थानीय निकायले पनि सोही अनुरुप २७ लेखी दिएछ । अब कोरियन सरकारी निकायमा सो बिहे दर्ता प्रमाणपत्र देखाउँदा, तिम्रो श्रीमती बिहे गरेको दिन २७ बर्ष नभइ २६ बर्ष ११ महिना ३ दिन भएकोले तिम्रो यो कागजपत्र शंकास्पद भयो भनी दिएछ । नेपालमा यस्तै लेख्ने चलन छ भन्दा त्यस्तो चलन कहाँ छ त्यस्को प्रमाण देखाउ भनेर तिरीखिरी पारिरहेको रहेछ । बास्तबमा हाम्रो स्थानीय निकायले यति बर्षको नभनेर यति जन्म मितीको फलाना भनी दिएको भए त्यो समस्या नै हुँदैन थियो तर हाम्रा अधिकांश सरकारी निकाय, अड्डा अदालतमा बर्ष यतिको मात्रै भन्ने चलन छ । यहि समस्याको अगाडि उनी हार खाने अबस्था सिर्जना भएको रहेछ ।
बास्तवमा भन्ने हो भने आज सम्म पनि कतिपय नेपालीको एकीन जन्म मिती कति हो भन्ने स्वयंलाई थाहा नभएको अबस्था छ । दुर्गम क्षेत्रमा घरमै सुत्केरी गराउने प्रचलन छ । कतिपय दुर्गम महिलाहरु घाँस दाउरा लिन जादा जंगलमै सुत्केरी भएर, भारिसँगै नवजात शिशु बोकी घर आएका प्रशस्त उदाहरणहरु छन् । यस्ता महिला र उनको परिवार प्राय अशिक्षित हुने भएकाले पनि कुन बर्ष, कुन महिना, कुन दिन बच्चा जन्मिएको भनेर उनीहरुले हेक्का राख्दैनन् ।
अर्को तर्फ दुर्गम क्षेत्रका अधिकाशले जन्म दर्ता नै गर्दैनन् । अनि बिद्यालय गएका बालबालिकालाई शिक्षकले नै अन्दाजमा जन्म मिती राखी दिने गरेका छन् । बिद्यालय नगएकाहरुका हकमा भने नागरिकता बनाउँदा ताका सम्बन्धित अधिकारीले हचुवामा जन्म मिती राखीदिने गरेका प्रशस्त उदाहरण छन् । १५, २० बर्ष अघि सम्म जन्म मिती भनिएको ठाउँमा यति बर्ष भनेर मात्र राख्ने चलन थियो ।
उदाहरणको लागि पूर्ब प्रधान न्यायाधिश गोपाल पराजुलीको नागरिकतामा जन्म मितीको ठाउँमा बर्ष २१ लेखिएको छ । त्यसकारण पनि उनको जन्ममितीमा भएको विवादको कारण, उनले प्रधानन्यायाधीसको जिम्मेवारीबाट राजीनामा दिनु परेको थियो । अर्को एउटा सर्बसाधरणको पनि उदाहरण लिऔं । कैलाली जिल्लाको श्रीराम चौधरीको उमेर हचुवाको भरमा २५ बर्ष भनेर लेखिएको रहेछ । उनकै सहोदर भाईले बृद्ध भत्ता लिन सुरु गर्दा पनि उनी त्यस्तो सरकारी सुबिधाबाट बञ्चित छन् । सरकारी संयन्त्रले एकीन जन्ममिती नतोकीदिएका कारण बिगतमा यस्ता अनेकन समस्याहरु आएका प्रशस्त उदाहरणहरु छन् ।
अर्को तर्फ नेपालमा बर्ष गणना गर्ने पनि अर्को एउटा अचम्मको प्रचलन छ । उमेर भनिदिदा पनि ५ को गुणणले आउने प्रतिफल अनुसार जस्तो २० बर्ष, २५ बर्ष, ३० भनिने गरिन्छ । यसरी मितीलाई ख्याल नगरी कसैको उमेर जथाभावी भनिदिदा स्वदेशमा त समस्या पर्ने नै भयो, बिदेशमा समेत नेपालीहरुलाई अनेकन समस्या पर्ने गरेको छ । कोरियाका ति नेपाली भाई, यही कारणले प्रताडीत हुन पुगेका हुन ।
त्यसकारण पनि जन्ममिती, उमेर जस्तो अत्यन्त संबेदनशील बिषयमा यति उती नभनी सटीक जन्म मिती नै प्रयोग गर्न, गराउन सरकारी निर्देशन ल्याउन ढिला भइसकेको छ । ति कोरियाका प्रवासी भाईले पाएको दुःखनै अन्तिम होस् र उनी जस्ता दुःख पाएकाहरुलाई सम्बन्धित देशका दुताबासले सम्बन्धित सरकारसँग सहजीकरण गरेर निकाश दिने ब्यवस्था गरियोस् ।