११ बैशाख २०७७, काठमाडौँ
कुनै सयमका निकै चर्चित अभिनेता जीवन लुईटेल आजभोली चलचित्रमा त्यति देखिएका छैनन् । उनले चलचित्र छोडेको धेरै बर्ष भैसकेको छ । उनी विगत केही बर्षदेखि आफ्नो परिवारसँग अमेरिकामा बस्दै आएका छन् ।
सामाजिक सञ्जालबाट पनि टाढा रहेका अभिनेता अहिले लकडाउनका कारण भने आफ्नो समय सामाजिक सञ्जालमा बिताउने गरेका छन् । यस्तै लामो समयपछि उनी फेसबुक लाइभमा आएका थिए ।
फेसबुक लाइभमा आएर उनले कोरोनाबारे सबैलाई सचेत गराउँदै सुरक्षित रहन आग्रह पनि गरे । अमेरिकामा कोरोनाको कारण सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । त्यसका साथै सबैभन्दा धेरै कोरोना संक्रमित पनि अमेरिकामा नै रहेका छन् । जसका कारण जीवनमा पनि डर उत्पन्न हुनु स्वभाविक नै हो ।
उनले फेसबुक लाइभमा भने, ‘लकडाउनका कारण सबैलाई समस्या भएको छ, तर गरीब, किसान र मजदुरलाई थप समस्या भएको छ, सामाजिक अभियन्तालाई मेरो स्वागत छ,’।
‘नेपालमा भएको भए केही सहयोग गरिन्थ्यो होला, बाहिर बसेर कुरा गरेजस्तो मात्र भएको छ, अहिले जो जहाँ छ, त्यहीँबाट सबैले संघर्ष गरिरहेका छौं,’ उनी भन्छन् ।
उनले समाचार हेर्दा नेपालको गरीबी जीवनमा लकडाउनका कारण समस्या देखिएको भन्दै नेपालमा भए सहयोग गर्ने बताएका छन् । उनले आशा व्यक्त गरेका छन्, ‘गरीब मजदुरले पनि खान पाउने अवस्था होस् । थोरै भए पनि गुन्द्रुक र भात नै किन नहोस्, त्यो खाएर भए पनि घरभित्र बसौं स्वस्थ बसौं ।’
अन्त्यमा उनले भने, ‘मलाई लाग्छ, योग र ध्यानले नै हामीलाई सकारात्मक उर्जा दिन्छ, सबै घरमा रहनेबाहेक अरु विकल्प छैन, आशा छ, जीवनमा फेरि उमंग आउनेछ ।’