कोरोना भाइरसबारे आकलन रिपोर्ट तयार पार्दै परराष्ट्र मन्त्रालय



१३ वैशाख २०७७, काठमाडौं

विदेशमा रहेका नेपाली श्रमिकहरुलाई उच्च प्राथमिकतामा राख्दै परराष्ट्र मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) आकलन रिपोर्ट तयार गर्ने भएको छ ।

नेपाली नागरिक रहेका विदेशी मुलुकहरुमा कोरोना भाइरसको अवस्था, सम्बन्धित मुलुकमा भइरहेको काम, नेपाल सरकारले गरिरहेको कूटनीतिक नियोगहरुबाट गरिरहेको पहल र कोरोना भाइरस संक्रमण सकिएपछि भविष्यमा आउन सक्ने सम्भावित समस्यालाई मध्यनजर राख्दै आकलन रिपोर्ट तयार गर्न लागिएको हो ।

सम्पूर्ण नेपाली नागरिकहरु बसोबास गर्दै आएका मुलुकका बारेमा चासो दिँदै आकलन रिपोर्ट तयार गरिने भए पनि उच्च प्राथमिकता भने नेपाली श्रमिकहरु रहेका खाँडी मुलुक र मलेसियालाई दिइने परराष्ट्रले जनाएको छ ।

५ खाँडी मुलुक र मलेसियामा गरी करिब १४ लाख नेपाली श्रमिकहरु कार्यरत छन् । कोरोना भाइरसको प्रकोपका कारण ती मुलुकहरुको पनि अर्थतन्त्र कमजोर हुने भएपछि आउन सक्ने सम्भावित समस्याहरुलाई मध्यनजर राखेर आकलन रिर्पोट तयार पार्न लागिएको हो ।

यूएईमा २ लाख ५० हजार, साउदी अरेबियामा ३ लाख ५० हजार, बहराइनमा ३० हजार, कुवेतमा ८० हजार, कतारमा ३ लाख ५१ हजार र ओमानमा १५ हजार नेपाली श्रमिक कार्यरत छन्। यस्तै, मलेसियामा ३ लाख २५ हजार नेपाली श्रमिक कार्यरत छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्