१३ बैशाख २०७७, काठमाडौँ
लकडाउन कारण सबैजना यतिबेला घरमा समय बिताइरहेका छन् । समय बिताउने सबैभन्दा सजिलो माध्यम नै चलचित्र भएकाले धेरैले आफ्नो समय चलचित्र हेरेर बिताइरहेका छन् ।
दर्शकको अनुरोधलाई मध्यनजर गर्दै युट्युबमा भटाभट नयाँ चलचित्रहरु सार्वजनिक भैरहेका छन् । यसैबिच आमाको मुख हेर्ने दिनको अवसर पारेर चलचित्र लब डायरिज पनि युट्युबमा रिलिज भएको छ ।
गत बर्षको फागुन २ गते रिलिज भएको लब डायरिज लाई हलमा दर्शकको राम्रो साथ मिलेको थिएन । चलचित्र हलमा फ्लप भएको थियो । तर युट्युबमा रिलिज भएको केहीसमयमै लब डायरिज ले राम्रो भ्यूज पाइरहेको छ ।
साथै चलचित्र हेर्ने अधिकांशले चलचित्रको तारिफ पनि गरेका छन् । यतिबेला लब डायरिज युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा उक्लिएको छ ।
चलचित्रले १२ लाख २३ हजार भन्दा बढि दर्शक पाएको छ । जसमा चलचित्रलाई ४१ हजारले लाइक गरेका छन् भने डिसलाइक गर्ने जम्मा २ हजारमा सिमित छन् ।
चलचित्रमा सुशिल श्रेष्ठ र रुबिना थापाको मुख्य भूमिका रहेको छ । चलचित्र हेर्ने अधिकांशले सुशिलको लुक्स र रुबिनाको अभिनयको निकै नै तारिफ गरेका छन् ।