१४ बैशाख २०७७, काठमाडौँ
कोरोनाको कारण अहिले देशको अवस्था राम्रो छैन । हरेक क्षेत्रका कामहरु कोरोनाका कारण रोकिएका छन् । यस्तै कोरोनाको संक्रमण धेरै नहोस् भनेर सरकारले देशलाई लकडाउन गरेको छ ।
लकडाउनका कारण धेरै मानिसहरु समस्यामा परेका छन् । यस्तै समस्यामा परेका व्यक्तिहरुलाई केही कलाकारहरुले सहयोग गरेका छन् । तर जसले गरेका छैनन्, उनीहरुलाई दर्शकले आलोचना पनि गरिरहेका छन् । संकटको बेला कलाकारले सहयोग गर्नुपर्ने अवस्थामा कलाकारहरु आफै गायब छन् भनेर आलोचना हुन थालेको छ ।
यसबारे केही कलाकारले आफ्नो राय व्यक्त गरेका छन् । अभिनेता दयाहाङ राईले बलिउड कलाकारहरु नेपाली कलाकारलाई दाज्न नमिल्ने बताएका छन् । उनले बलिउड कलाकारले जति सहयोग गर्ने अवस्था आफ्नो नभएको स्पष्ट पारे । साथै उनले सहयोग आफ्नो अवस्था हेरेर मात्र गर्न सकिने पनि बताए ।
यस्तै नायिका स्वस्तिमा खड्काले आफ्नो तर्फबाट सकेको सहयोग गरिरहेको बताएकी छिन् । तर उनी प्रचार गर्दै हिड्न आवश्यक नरहेको बताएकी छिन् । स्वस्तिमा पनि दवावमा परेर सहयोग गर्नु गलत भएको बताउँछिन् । ‘अरुको देखासेखीमा काम गर्नु गलत हो’, स्वस्तिमाले थपिन्, ‘अझ कसैले यसले सहयोग किन गरेन भन्दै प्रश्न गर्नु झनै गलत हो जस्तो लाग्छ ।’
अभिनेत्री तथा होस्ट रिमा विश्वकर्मा पनि स्वस्तिमाको कुरामा सहमत जनाउँछिन् । उनले भनिन्, ‘हो, सहयोग भनेको मनबाट गर्ने हो । त्यो दवावमा गर्ने होइन । अनि मनबाट गरेको सहयोग अरुलाई देखाउन जरुरी पनि हुन्न ।’
नायिका केकी अधिकारी कसले कति सहयोग गर्यो भनेर मूल्यांकन गर्नु सबैभन्दा गलत भएको बताउँछिन् । उनी जसले जति सक्यो त्यति नै सहयोग गर्ने भएकाले यसबारे विवाद गर्न जरुरी नै नभएको बताउँछिन् ।
अभिनेता नाजिर हुसेन आफ्नो अवस्था हेरेर मात्र सहयोग गर्न सकिने बताउँछन् । उनले भने, ‘सहयोग गर्नु भन्दा पहिला आफ्नो अवस्था हेर्नुपर्छ । आफूसँग भएको धनराशीले आफू कति समय बाँच्न सक्छु र त्यसबाट बचेको कति सहयोग गर्न सक्छु भन्ने बुझेर मात्र सहयोग गर्नु पर्छ । नत्र आफैँलाई समस्या हुन सक्छ ।’