
१४ वैशाख २०७७, काठमाडौं
र्यापिड डाइग्नोस्टिक टेस्ट् (आरडीटी)मा तीन पटक कोरोना भाइरसविरूद्धको एन्टिबडी देखिएकी २३ वर्षीया युवतीको वीरगञ्जमा मृत्यु भएको छ ।
उनलाई नारायणी अस्पतालको आइसोलेसनमा राख्ने तयारी गर्दैगर्दा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले बताए । मृतक युवतीको तीन पटक आरडीटी पोजेटिभ देखिएपछि पीसीआर गर्न स्वाब हेटौंडा प्रयोगशाला पठाइएको छ ।
“अहिले नै केही भन्न सक्ने स्थिति छैन । पीसीआरको रिपोर्ट आएपछि थाहा हुन्छ ।” डाक्टर उपाध्यायले भनेका छन् । मृतक युवती केही महिनादेखि ब्लड क्यान्सरका बिरामी थिइन् ।
उनी गत ४ वैशाखमा चितवनको भरतपुर अस्पतालमा भर्ना भएर ९ गते डिस्चार्ज भएकी थिइन् । युवतीलाई विगत एक दुई दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि परिवारले वीरगञ्जकै केही अस्पताल लगेका थिए ।
शुरुमा तराई हस्पिटल लगिएको र त्यहाँ दुई पटक आरडीटी गर्दा पनि नतिजा पोजेटिभ आएको थियो । अहिले युवतीको शव अस्पतालमै राखिएको छ ।
उनको र्यापिड टेस्ट्को नतिजा पोजेटिभ आएपछि अस्पतालले परिवारलाई क्वारेन्टाइनमा बस्न भनेको छ ।
|फाइल तस्वीर|





